
पाँचबर्षपछि खुल्यो गोरखाको मुलाढाज्यान नाका
बिगत पाँचर्षदेखि बन्द रहेको उत्तरी गोरखाको मुलाढाज्यान(ङुइला) नाका खुलेको छ । कोभिड संक्रमण फैलन सक्ने भन्दै २०७६ सालको पुस महिनादेखि चिनियाँ सरकारले एकतर्फी रुपमा बन्द गरेको चुमनुब्री ७ छेकम्पार र तिब्बत जोड्ने मुलाढाज्यान नाका हालै उद्घाटन गरिएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
केही दिनअघि तिब्बतको जोङ्गास्थित स्या सहरमा औपचारिक कार्यक्रम आयोजना गरी नाकाको उद्घाटन गरिएको उनले बताए ।
गोरखाको चुमनुब्री १ मा रुइला नाका र वडा नं. ७ मा मुलाढाज्यान(ङुइला) नाका छन् । दुईमध्य हाल एउटा मात्र खुलाइएको छ । ‘पाँचबर्षपछि बल्लतल्ल एउटा नाकाचाहिँ खुल्यो । अब अर्को खुल्न बाँकी छ’, उनले भने, ‘सरकारी स्तरमाचाहिँ दुवै नाका खोल्ने भनेर निर्णय भइसकेको छ । स्थानीय स्तरमाचाहिँ अहिलेलाई एउटा मात्र खुलेको छ ।’ अहिलेलाई स्यासम्म मात्र जान दिने तिब्बती पक्षले जानकारी दिएको उनले बताए ।
नाका खुल्ला गरिएको घोषणा भए पनि आवतजावत भने असारबाट मात्र हुने भएको छ । अबको एक महिनामा आवतजावत गर्न पाइने भनेर अहिलेलाई उद्घाटन मात्र गरिएको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्केका पासाङफुञ्जो लामाले जानकारी दिए ।





