
आरुघाटमा १५ शैयाको पालिकास्तरीय आधारभूत अस्पताल संचालनमा
आरुघाट गाउँपालिकामा १५ शैयाको पालिकास्तरीय आधारभूत अस्पताल संचालनमा आएको छ । आरुचनौटे प्रथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको आधारभूत अस्पताल बनाइएको हो । गण्डकी प्रदेश सभाका सदस्य नन्दप्रसाद न्यौपानेले शनिबार एक कार्यक्रमकाबीच अस्पतालको उद्घाटन गरेका छन् ।
आरुघाट आधारभूत अस्पताल सञ्चालन कार्यविधि २०८१ अनुसार अस्पताल सञ्चालनमा ल्याइएको पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए । स्तरोन्नतीसँगै थाइराइड जाँच, ल्याब सुविधाहरु र उच्च स्तरको एक्स–रे सेवा थप गरिएको उनले जानकारी दिए । बिमारीलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने मेसिन पनि थप गरिएको उनले बताए ।
उद्घाटन कार्यक्रमकै अवसरमा अस्पताललाई ल्याबका लागी आवश्यक उपकरणहरु हस्तान्तरण भएको छ । सम्भव नेपाल नामक संस्थाले ८० लाख रकम बराबरको उपकरणहरु हस्तान्तरण गरेको हो । कार्यक्रमकै अवसरमा स्वास्थ्य संस्थामा कार्यरत पूर्व कर्मचारीहरुलाई सम्मान समेत गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेश सभाका सदस्य न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली, धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ, सम्भव नेपालका अध्यक्ष प्रेम खत्री, विभिन्न राजनितिक दलका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष, जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।




