| मङ्लबार, कार्तिक २४, २०८३

आठ हजार बालबालिकालाई आइपिभी खोप लगाउने तयारी

आठ हजार बढी बालबालिकालाई लक्षित गरी जिल्लामा पोलियो रोग बिरुद्धको आइपिभी खोप अभियान संचालन हुदैछ । यही जेठ १६ गतेदेखि जिल्लाभर एकै साथ खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानमा २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने खोप फोकल पर्सन नानीवावु दानीले बताए ।

‘खोप अभाव भएर त्यो बेला जन्मिएका बालबालिकाहरुले खोप लगाउन पाएनन्,’ उनले भने, ‘उनीहरुलाई पोलियो हुन सक्ने जोखिम कायम नै भएकाले यो रोग विरुद्धको खोप दिन लागेका हौ ।’ कार्यालयले संकलन गरेको तथ्याङ्क अनुसार जिल्लाभर ८ हजार ५ सय ३९ जनालाई खोप लगाउनुपर्ने देखिएको छ । सबैभन्दा बढी गोरखा नगरपालिकामा २ हजार ४८६ र सबैभन्दा कम चुमनुव्री गाउँपालिकामा २९७ जना बालबालिका रहेका छन् ।

त्यस्तै पालुङटार नगरपालिकामा १ हजार ९१, अजिरकोट गाउँपालिकामा ४१२, सिरानचोकमा ४९९, बारपाक सुलिकोटमा ६६७, आरुघाटमा ७३०, भीमसेन थापामा ४८५, शहिदलखनमा ६०३, गण्डकी ६४१ र धार्चेमा ६२८ जनालाई खोप लगाउनुपर्ने देखिएको बताइएको छ ।

२२ गतेसम्म सञ्चालन हुने अभियानका लागी २ सय ५९ वटा खोप केन्द्र निर्धारण गरिएको छ । २ सय ५९ जना स्वास्थ्यकर्मी र ५ सय १८ जना स्वयमसेवक खटाइने कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए । खोप व्यवस्थापन तथा अनुगमनका लागि १ सय २३ जना खटाइने उनले जानकारी दिए । उनका अनुसार अभियानको आवश्यक तयारी पुरा भइसकेको छ ।

अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य भइरहेको उनको भनाइ छ । कार्यालयका अनुसार पोलियो रोग लागेका व्यक्तिलाई अतिशिघ्र लुलो पक्षघातसँगै मृत्युसम्म हुन सक्छ । ५ बर्ष मुनिका बालबालिकालाई यो रोग लाग्ने बढी जोखिम रहेको कार्यालयका दानीले बताए । यो रोगको कुनै निश्चित औषधी उपचार नभएकाले यसबाट बच्न खोप नै लगाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्