
तीन पालिका पूर्ण खोप सुनिश्चितता घोषणा
जिल्लाका तीन पालिका पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा भएका छन् । जिल्ला स्वास्थ्य कार्यलयका अनुसार आरुघाट गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा भएका हुन् ।
सोमबार कार्यालयले तीनै पालिकाहरुलाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा गरेको छ । जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा मगरको अध्यक्षतामा बनेको जिल्ला खोप समन्वय समितिले पालिकाहरुबाट प्राप्त विवरणलाई अनुगमन गरेर उनीहरुलाई पूर्णखोप पालिका घोषणा गरेको हो ।
अन्य आठ पालिकाहरुको विवरण भने आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाका खोप निरीक्षक नानीबाबु दानीले जानकारी दिए । ‘अन्य पालिकाहरु भने विवरण बुझाउने प्रक्रियामा छन्’, उनले भने, ‘सबै पालिकाहरुको विवरण आएपछि जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता जिल्ला’ घोषणा गर्ने उद्देश्य हाम्रो छ ।’ जेठभित्र सबै प्रक्रिया पूरा गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी कार्यालयको रहेको उनले बताए ।
कार्यालय हरेक वर्ष १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाहरुले १५ महिनाभित्र लगाउनु पर्ने सबै खोपहरु लगाए÷नलगाएको खोजी गर्ने गर्दछ । सो उमेर समुहका बालबालिकाहरुले १५ महिना अवधिमा लगाउनु पर्ने खोप छुटेको भए कार्यालयले पुनः उनीहरुलाई खोप लगाउने गरेको छ । गतवर्ष जिल्लाभर १६ महिनादेखि ५९ महिना उमेर समूहका २५ जना बालबालिकाहरुले १५ महिनाभित्र लगाउनु पर्ने खोपहरु लगाउन छुटेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यो वर्ष प्राप्त विवरण अनुसार गोरखा नगरपालिकाबाट ३ र आरुघाट गाउँपालिकाबाट ३ जना बालबालिकाहरु पूर्ण खोप लगाउन बाँकी रहेको पाइएको छ ।
पालिकाहरुले त्यस्ता बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई खोप लगाइदिने स्वास्थ्य कार्यालयको भनाई छ । सबै पालिकाहरुले खोप लगाउन छुटेका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई खोप लगाएसँगै त्यसको विवरण जिल्लामा पठाउने गर्दछ । जिल्ला स्वास्थ्य कार्यलयले उक्त विवरण प्रदेशमा र प्रदेशले केन्द्रमा विवरण बुझाएसँगै केन्द्रले जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता जिल्ला’ घोषणा गर्ने गरेको छ ।




