
गोनपामा नीलकण्ठेश्वर महादेवको मूर्ती र नीलकण्ठमा रामशाहको न्याय चौतारा निर्माण हुने
भगिनी सम्बन्ध स्थापित भएको गोरखा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिकाले एक अर्काको जिल्लाको चिनो स्वरुप पार्क निर्माण गर्ने भएका छन् । निलकण्ठ नगरपालिकामा रामशाहको न्याय चौतारासहितको पार्क निर्माण कार्य अघि बढिसकेको छ ।
नीलकण्ठ नगरपालिका–७ चिलाउनेडाँडामा बन्न लागेको उक्त पार्कको गत बैशाख २६ गते शिलान्यास समेत भइसकेको छ । दुवै नगरपालिकाका मेयरहरुले संयुक्त रुपमा पार्कको शिलान्यास गरेका हुन् । ‘हाम्रो गोरखामा भएको जस्तै रामशाहको न्याय चौतारा सहित पार्क बनाउने बहुबर्षीय योजना छ भन्ने जानकारी आयो,’ गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले भने, ‘अनुमानित लागत ७० लाख रहेछ ।’
गोरखा नगरपालिकामा भने निलकण्ठेश्वर महादेवको मूर्तिसहित पार्क निर्माण गरिने उनले बताए । साथमा सालकको प्रतिमा पनि बनाइने उनले जानकारी दिए । ‘निकलण्ठमा सालक बढी पाइने रहेछ, त्यसैले त्यसको प्रतिमा पनि बनाउन लागेका हौँ,’ उनले भने । उनका अनुसार स्थानको पहिचान भने भएको छैन । नगरसभाबाट स्थान छनोट गरी बजेट विनियोजन गरिने उनले जानकारी दिए ।
गत बैशाख २६ गते निलकण्ठमा दुई नगरपालिकाको संयुक्त कार्यपालिका बैठक समेत बसेको थियो । अवको संयुक्त कार्यपालिका बैठक गोरखामा गर्ने निर्णय समेत भएको छ । सोही अवसरमा दुई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटवल खेल समेत भएको थियो ।




