
व्यवसायिक कफी कार्यक्रम दिगो बनोस्
बारपाक सुलिकोट गाउँपालिकाभित्र व्यवसायिक कफी खेती गर्न लागिएको छ । खेतीका लागि बिभिन्न संघसंस्थादेखि गाउँपालिकासम्मले सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् । यसरी सुरुवात गर्न लागिएको कफी खेतीले स्थानीयको आयआर्जनमा सघाउ पु¥याउने मात्र होइन कृषि क्षेत्रको बिकासमा पनि उत्तिकै भूमिका निर्वाह गर्छ । व्यवसायिक रुपमा गरिने जुनसुकै खेतीलाई पनि प्रोत्साहन गर्नुपर्छ ।
तर बिडम्वना, यसअघि जिल्लाका बिभिन्न ठाउँमा व्यवसायिक रुपमा गरिएका धेरै खेतीहरु अलपत्र छन् । अजिरकोटको व्यवसायिक अलैची होस् वा पालुङटार नगरपालिका ९ मा गरिएको व्यवसायिक कफी खेती, सबै असफल छन् । भूकम्प पश्चात पाउलोनियाको बिरुवा धेरैको घर वारीमा रोपियो । चाडै नतिजा दिन्छ भन्ने हल्लाको पछि लागेर तरकारी तथा अन्नवाली रोप्ने जमिनमा समेत पाउलोनिया लगाए तर परिणाम शुन्य ।
व्यवसायिक खेतीको नाममा अनुदानमा बिरुवा वितरण हुन्छ । केही सहयोगहरु पनि जुट्छन् किसानका लागी । खेतीको सूरुवात पनि हुन्छ । तर बजार व्यवस्थापन लगायतका अन्य समस्याले गर्दा किसानहरु मर्कामा पर्छन् । सहयोग गर्ने हातहरुले साथ छोड्दै जान्छ । अनि व्यवसायिक खेतीले निरन्तरता पाउन सक्दैन । जिल्लामा देखिएका केही उदाहरणहरुले यसको पुष्टी गर्छ ।
यसो भन्दै गर्दा व्यवसायिक खेती गर्न हुदैँ हुन्न भन्न खोजेको चाही होइन । सुरुवात गर्नुभन्दा पनि यसको दिगोपना आवश्यक छ । व्यवसायिक खेतीका लागी सुरुवाती चरणमा सहयोगी हातहरु जुटेसँगै उत्पादन र बजार व्यवस्थापनमा पनि उत्तिकै साथ र सहयोग पाए मात्र व्यवसायीक खेतीले सफलता प्राप्त गर्छ । किसानहरु पनि त्यसप्रति आकर्षित हुन्छन् । अनि बल्ल व्यवसायिक खेतीका कार्यक्रमहरु दिगो हुन्छन् ।




