
व्यवसायिक कफी खेती गर्दै बारपाक सुलिकोट
मेलिना बराम ।
बारपाक सुलिकोट गाउँपालिकाभित्र व्यवसायिक कफी खेती गरिने भएको छ । पालिका भित्रका विभिन्न वडाका कृषक समूह बनाई कफी खेती गर्न लागिएको हो । व्यवसायिक कफी खेतीका लागि आइतबार चार पक्ष बीच सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए ।
प्रथम पक्ष फ्रेस्को हिमालय प्राइभेट लिमिटेड, दोस्रो पक्ष कृषक समूह, तेस्रो पक्ष गाउँपालिका र चौथो पक्ष एकीकरण नेपाल रहेको छ । सम्झौता पत्रमा प्रथम पक्षबाट सिइओ दिपेन्द्र पोखरेल, दोस्रो पक्षबाट कृषक समूहका अध्यक्ष एवम प्रतिनिधि, तेस्रो पक्षको तर्फकबाट गाउँपालिका अध्यक्ष विष्णु भट्ट र चौथो पक्षबाट कार्यकारी निर्देशक हरि देवकोटाले हस्ताक्षर गरेका छन् । दस वर्षको लागि यो चार पक्षीय सम्भौता भएको हो ।
फ्रेस्को हिमालयले तोकिएको मुल्यमा कफी खरिद गरी पैसा १५ दिन भित्रमा कृषकको खातामा हाल्नु पर्ने सम्झौतामा उल्लेख छ । समयमा उत्पादित कफी खरिद नभएको खण्डमा त्यस बापतको रकम भुक्तानी गर्नु पर्ने गरी सम्झौता भएको छ । कृषक समूहले उत्पादन गरेको कफी सुकाएर मात्रै बिक्री गर्ने पर्ने बताएको छ । खरिद गरेको कफी प्याकिङ गरी बजारिकरण गर्दा गाउँपालिका र एकिकरण नेपालको साझेदारी हुनु पर्ने सम्झौता पत्रमा उल्लेख छ ।
कफी सेपिलो ठाउँमा हुने खेती हो । त्यसैले गाउँपालिकाले कफी खेतीलाई उत्पादन मूलक तथा दिगो बनाउन छहारी हुने सदाबहार घाँसका विरुवा उपलब्ध गराउने बताएको छ । गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई आर्थिक अनुदान पनि दिइने अध्यक्ष भट्टले बताए । कफी खेतीको लागि आवश्यक पर्ने सिंचाई आयोजनामा सहयोग गरी मल खरिद प्रक्रियामा अनुदान दिने उनले जानकारी दिए । खरिद गर्ने कम्पनी र कृषक बीच केही विवाद उत्पन्न भए गाउँपालिकाले सहजिकरणको भूमिका खेल्नु पर्ने सम्भौता पत्रमा उल्लेख छ ।
एकिकरण नेपालले यस वर्ष गाउँपालिकालाई थप पाँच हजार कफीको विरुवा सहयोग गर्ने बताएको छ । गतवर्ष सारेका कफीका बोट काँटछाँट गर्न प्रविधिक तालिम पनि दिइने तयारी रहेको कार्यकारी निर्देशक देवकोटाले बताए । अघिल्लो वर्षमा एकिकरण नेपालले १२ हजार कफीका बोट कृषक समूहमा वितरण गरेको थियो । गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ देखि नै व्यवसायिक कफी खेती सुरु गरिएता पनि अरिद बिक्री सम्झौता भने अहिले भएको अध्यक्ष भट्टले बताए । सम्झौता प्रक्रिया केही ढिला गरी भएको भएता पनि अब यसलाई अभियानको रुपमा अघि बढाउने उनले बताए ।
कफी खेती गर्नका लागि त्यहाँका कृषक पनि निकै उत्साहित छन् । बारपाक सुलिकोट वडा नं. ८ पन्द्रुङकी ज्ञानु वगााले विगत ९ वर्षदेखि आफ्नै लगानीमा कफी खेती गर्दै आएकी छिन् । उनको बारी हाल एक सय कफीका बोट रहेका छन् । सबै बोटबाट राम्रो उत्पादन हुने उनी बताउँछिन् । ‘मैले आफ्नै बारीमा एक सय बोट कफी लगाएको छु, वर्षका एक क्वीनटल उत्पादन हुन्छ,’ उनले भनिन् ।
कफी खेतीका लागि अनुदान र प्रोत्सहान पाए अझै उत्साह र मेहेनतका साथ कफी खेतीमा लाग्ने उनले बताइन् । ‘कोदो मकै लगाए दई चार पाथी मात्रै आउँछ, कफी लगाए धेरै उत्पादन हुन्छ,’ ज्ञानु भन्छिन्, ‘अरु बाली भन्दा यसको खेती गर्न पनि सजिलो छ, त्यही भएर साथ सहयोग मिल्छ भनी म चाँही यसमा लागेर काम गर्छु ।’ व्यवसायिक कफी खेतीका लागि बारपाक सुलीकोट गाउँपालिकाका नौ वटा विभिन्न कृषक समूहका २१६ जना किसानहरु प्रतिवद्ध रहेको बताइएको छ ।




