
देवलबासीलाई यथासीघ्र सुरक्षित स्थानमा स्थानान्तरण गरौँ
चुमनुब्री ३ को देवल गाउँ बिगत लामो समयदेखि पहिरोको उच्च जोखिममा छ । २३ बर्षदेखिको पहिरोले देवलभन्दा तलका नुसिला, लोक्पा र ल्याक्सी गाउँ बगाइसकेको छ । अहिले देवलको पनि धेरै घर बगाइसकेको छ । बचेखुचेका घरका बासिन्दा पनि कति खेर पहिरो आएर बगाउने हो भन्ने त्रासमा छन् । तीन गाउँ खाएको पहिरोले कहिले देवल पनि खाने हो भन्ने त्रासमा गाउँले छन् ।
करिब ७५ घर धुरी रहेकोे देवल गाउँका बासिन्दाहरु बर्खा लागेपछि रातभर जाग्रम बस्छन् । उनीहरु कति बेला पहिरो आएर लैजान्छ भन्नी डरले रात जागै बिताउँछन् । बर्खाको बेला लोक्पा खोला नदीमा बाढी आएसरी उर्लिएर आउँछ । अनि कतिखेर कसको घरबार उजाड पारेर लाग्ने हो थाहा नै हुन्न ।
२०५७ सालमा लघु जलविद्युत उत्पादन गर्न पावर हाउस बनाएदेखि पहिरो जान सुरु गरेको हो । त्यति बेलादेखि अहिलेसम्म पनि पहिरोले गति रोकेको छैन । वर्षेनी झन झन विकराल रुप लिएर बग्छ । अनि सँगै दुःख सुख गरेर जिविकोपार्जन गरिरहेका त्यहाँ बासिन्दालाई छिनभर मै घरबार बिहिन बनाई जान्छ ।
असार साउनमा दिनहुँ जसो आउने पानीले जमिन गलेर बसेको हुन्छ । हिउँद सुरु भएपछि भदौदेखि फागुनसम्म निरन्तर सुख्खा पहिरो बग्छ । देवल गाउँको करिब ३, ४ किलोमिटर माथि र छेउमा १ किलोमिटर परसम्म जमिन सबै फाटेर चिरा चिरा परेको छ । त्यहाँका बासिन्दाहरुले स्थानीय सरकारसँग बरम्बार बस्ती सुरक्षित ठाउँमा स्तन्तरण गर्न माग गर्दै आएका छन् । आफ्नो भाषा संस्कृति तथा पहिचानको संरक्षण हुने गरी बस्ती स्तान्तरण गरिदियोस् भन्ने उनीहरुको अपेक्षा छ ।
गाउँपालिकाले पनि उनीहरुलाई सुरक्षित स्थानमा स्तान्तरण गर्नका लागि प्रयास नगरेका होइन । स्थानीय सरकार लागु भएदेखि बस्ती स्तान्तरणको लागि पालिकाले निरन्तर प्रयास गर्दै आएको छ । तर, सरकारी कगजी प्रक्रिया लामो र झन्झटिलो हुँदा अहिलेसम्म उनीहरुको स्थानान्तरणको सपना ज्यूँकात्यूँ छ ।




