
गोरखामा ड्राइभरहरुको स्वास्थ्य र गाडीहरुको मेकानिकल चेकजाँच
जिल्लामा जारी ट्राफिक सप्ताह कार्यक्रम अन्तरगत छैठौ दिन आइतबार सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सडक सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सवारी चालक लक्षित स्वास्थ्य परीक्षण कार्यक्रम संचालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत मंगलबारबाट सुरु भएको ट्राफिक सप्ताह कार्यक्रमको छैठौ दिन आइतबार १४८ जना सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए । ‘गोरखा नगरपालिका वडा नं ९ ठिगुरेश्वाँरा, अजिरकोट गाउँपालिका वडा नं ३ भच्चेक, सिरानचोक गाउँपालिका वडा नं ६ नयाँसाँघु, आरुघाट गाउँपालिका वडा नं ८ आरुघाट बजार र भीमसेनथापा गाउँपालिका वडा नं १ पिपलडाँडामा सवारी चालक सहचालकहरुको स्वास्थ्य चेकजाँच गरियो’ उनले भने ।
आइतबार सवारी साधनहरुको मेकानिकल चेकजाँच समेत गरिएको छ । जिल्लाभर करिब ७ सय ६८ वटा सवारी साधनहरुको मेकानिकल चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरखाले जनाएको छ । ट्राफिक सप्ताह अन्तरगतको अन्तिम दिन सोमबार सप्ताहभरको समिक्षात्मक अन्तरक्रिया र दीप प्रज्वलन गरी मनाइने कार्यालयको भनाई छ ।




