
ज्यानको बाजी थापेर खस्रेभीरमा ‘हनी हन्टिङ’ गर्दै ओलाङबासी
करिव एक महिनादेखिको तयारी थियो । आवश्यक सामग्रीको जोहो स्थानीयले लगभग गरिसकेका थिए । वुधवार साँझ गाउँ भेला बसेर भिरमौरीको मह निकाल्न जाने निर्णय गरे । बिहीवार बिहानै अजिरकोट गाउँपालिका–२ ओलाङवासी ‘हनी हन्टिङ’ भन्दै बस्तीदेखि पर खस्रे भिरतर्फ लागे ।
काठ र डोरीबाट बनाइएको भ¥याङ एउटाले बोके । मह हाल्ने कोर्का (स्थानीय भाषामा बेङ्गे) अर्काेले । मह काढ्ने ‘टाङ्गो’ सहित अन्य सामग्री बोकेर अरु पछि लागे । उनीहरु आठ जना थिए । ६५ बर्षीय गंगामान गुरुङ र ६४ बर्षीय इन्द्र गुरुङले नेतृत्व गरेको देखिन्थ्यो ।
केही बेरको हिडाईपछि उनीहरु खस्रेभिर पुगे । वनदेवीलाई धुप चढाए । फेदमा काठ स्याउला बटुलेर केही आगो लगाउन थाले । धुवाँको मुस्लो माहुरीको घारसम्म पुग्न थाल्यो । भिरको माथिपट्टिबाट डोरी र भ¥याङ कस्न केही व्यस्त भए । त्यही भ¥याङको सहारामा गंगामान माहुरीको घार नजिक पुगे र महको शिकार गर्न थाले । भिरमा तुन्द्रुङ्ग झुण्डिएर माहुरीको टोकाइबाट बच्दै मह काढ्नु कम्ती जोखिमपूर्ण हुँदैन । तर ज्यानको बाजी राख्दै गंगामानले सहजै महको शिकार गरे ।
यो काम गर्न उनसंग ४५ बर्षको अनुभव छ । २० बर्षको उमेरदेखि ‘हनी हन्टिङ’ मा सहभागी हुदैँ आएको उनी बताउँछन् । ‘बाउबाजे पालादेखि गर्दै आएको काम हो, उहाँहरुकै पछि लागेर जान्थे । बिस्तारै काम पनि सिक्दै गए, अहिले सामान्य जस्तो लाग्छ,’ उनले भने । जोखिम भएपनि भिरमौरीको मह शिकार गर्न छुट्टै मज्जा हुने उनले सुनाए ।
मह शिकारका लागि चाहिने आवश्यक सामग्री लगभग उनी आफैसँग छ । नाइलनको डोरीमा अंगेरीको काठ हालेर भ¥याङ बनाएका छन् । ‘पहिले निगालोकै डोरी बनाइन्थ्यो तर आजभोलि नाइलनको डोरी प्रयोग गर्न थाल्यौँ,’ उनले भने । उनलाई साथ दिदै आएका इन्द्र गुरुङ पनि भिर मह शिकारमा खप्पिस छन् । ६४ बसन्त पार गरिसकेका उनले १६ बर्षको उमेर छदै यो काम शुरु गरेका हुन् । पुर्खाले गर्दै आएको कामलाई निरन्तरता दिदै आएको उनी बताउछन् । ‘
काम सिक्दा हामीलाई तल बसेर आगो फुक्न लगाउनुहुन्थ्यो । शुरुमा त भिर देखेर रिंगटा लाग्थ्यो तर आजभोली बानी प¥यो । डर पनि लाग्छ तर मज्जा पनि छ । ज्यान जोखिममा राखेर भिरमा जाने हो, अलिकति मिस्टेक भयो भने ज्यान जान्छ,’ उनले भने । परम्परागत रुपमा भिरमौरीको मह शिकार गर्ने जाने चलन रहेको उनको भनाइ छ । बिशेष गरी बैशाख र कात्तिक महिना गरी बर्षको दुई पटक भिरमौरीको मह निकाल्न जाने उनी बताउँछन् ।
तर पहिलेको तुलनामा अहिले महको मात्रा कम हुने गरेको उनले जानकारी दिए । ‘पहिले एकैपटक चार/पाँच सय लिटर मह हुन्थ्यो अहिले एक सय लिटर पुग्न पनि मुश्किल हुन्छ,’ उनले भने । शिकार गरी निकालेको मह स्थानीय आफैले बाँडेर लिने गर्छन् । भिरमौरीको मह स्वास्थ्यका लागि निकै फाइदाजनक हुने स्थानीय बताउँछन् । ‘यो मह खाए पत्थरी झर्छ, घुँडा दुख्ने रोग पनि निको हुन्छ । बल पनि आउँछ अनि छाला पनि चम्किलो बनाउँछ,’ गुरुङले भने ।
भीर मह शिकारका लागि यसअघि स्थानीयहरु पारी लम्जुङ समेत जाने गर्थे । तर गत बर्षबाट लम्जुङले निषेध गरेको स्थानीय प्रेमराज गुरुङले बताए । ‘हामी नै पहिले कति गयौ पारी, तर गत बर्षबाट उताको वडाले नगर भन्यो,’ उनले भने । ३२ बर्षका उनी हनी हन्टिङमा लागेको पाँच बर्ष भयो । युवापुस्ताको चासो कम हुदै गएको यो कामप्रति उनको भने लगाव बढ्दै गएको छ ।
परम्परागत रुपमा हुदैँ आएको हनी हन्टिङलाई गाउँपालिकाले यसबर्ष महोत्सवको रुपमा मनाएको छ । परम्पराको जगेर्ना गर्न यसबर्ष भिरमौरीको मह निकाल्ने कार्यक्रमलाई महोत्सवको रुपमा मनाइएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए । यसले पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने अपेक्षा रहेको उनले जानकारी दिए । कार्यक्रमको अवसरमा स्थानीयलाई मह शिकारका लागी प्रयोग हुने आधुनिक उपकरणहरु पनि बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थीले बताए ।




