
वित्तीय साक्षरता कार्यक्रमको प्रभाव : सहभागीहरु कार्यक्रम पश्चात् आफ्नै व्यवसाय सुरु गर्दै
सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगतको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्शदाता कार्यक्रमले जिल्लामा सकरात्मक रुप लिएको छ । वित्तीय साक्षरता कार्यक्रमका सहभागीहरुले कार्यक्रम पश्चात आफ्नै व्यवसाय संचालन गरेर जीविकोपार्जन् गर्दै आएका छन् ।
गोरखा नगरपालिका वडा नं ५ पोखराथोककी अनुशा परियार सामीको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्शदाता कार्यक्रमकी सहभागी हुन् । २३ वर्षीय अनुशाले सामीको कक्षा लिईसकेपछि विगत २ महिनादेखी आफ्नै व्यवसाय संचालन गरेर बसेकी छिन् ।
अनुशा आफु १७ वर्षमै विवाह गरेर आएको बताउँछिन् । ‘मैले १७ वर्षमै बिवाह गरेँ, बिहेपछि १ वर्षभित्रै छोरी पनि जन्मिइन्’, उनले भनिन्, ‘अहिले २३ वर्षकी भएँ, सामीको कार्यक्रममा गएपछि आफैले पनि केही गर्नुपर्छ जस्तो लागेर आँफैले झोला बनाएर बेच्ने गरेकी छु ।’ उनी अहिले गोरखा सङग्रहालय नजिकै आफ्नो व्यवसाय संचालन गरेर बसेकी छिन् । ‘सामीको ६ महिने कक्षा लिएपछि मैले ढाकाको झोला बनाउने तालिम लिए’, उनले भनिन्, ‘तालिमपछि अहिले आफ्नै सानो झोला व्यवसाय सुरु गरेको छु ।’
वित्तीय साक्षरता कार्यक्रमले आफुलाई केही गर्नु पर्छ भन्ने प्रेरणा प्रदान गरेको अनुशा बताउँछिन् । उनी भन्छिन्, ‘मेरो श्रीमान वैदेशिक रोजगारीमा हुनुहुन्छ, यो कार्यक्रमले मलाई पैसाको सदुपयोग गर्न र आफुले पनि केही गर्नु पर्छ भन्ने चेत दियो । अहिले श्रीमान पनि आउनु भएको छ, उहाँ जानु भएन भने पनि यही व्यवसायलाई विस्तार गरेर जीविकोपार्जन गर्ने सोच राखेको छु ।’ दैनिक ४ वटा सम्म ढाकाको झोला तयार पर्ने अनुशाले व्यवसायबाट आम्दानी पनि सन्तोषजनक नै हुने बताउँछिन् । ‘केही नगरी श्रीमानको कमाई खानु भन्दा आफ्नै व्यवसाय सुरु गर्छु जस्तो लागेर सुरु गरेको हो, अहिले दैनिक हजार देखी १५ सय जती कमाउँछु’, उनले भनिन् ।
सामीले वैदेशिक रोजगारीमा गएकाहरुको घरपरिवारका सदस्यहरुलाई समेटेर उनीहरुलाई आम्दानीको स्रोत बढाउन प्ररित गर्दै आएको छ । सामीको वित्तीय साक्षरता कार्यक्रमले अनुशा जस्तै जिल्लाका सयौँ सहभागीहरुलाई प्रेरित गर्दै आएको छ । वित्तीय साक्षरता कार्यक्रम जिल्लाको चार पालिकाहरु गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सहिद लखन गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाको विभिन्न वडाहरुमा संचालन हँदै आएका छन् ।




