
गोरखा नगरपालिकाको विपद व्यवस्थापन कार्यविधि पारित, विपदमा मृत्यु भएकाको परिवारले ५० हजार रुपैयाँ पाउने
गोरखा नगरपालिकाको विपद व्यवस्थापन कार्यविधि २०८० पारित भएको छ । सोमवार बसेको गोरखा नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले उक्त कार्यविधि पारित गरेको हो ।
कार्यविधि अनुसार विपदको घटनामा परी कसैको मृत्यु भएमा मृतकका परिवारले ५० हजार रुपैयाँ राहत रकम पाउने छन् । घाइतेको हकमा प्रतिव्यक्ति १५ हजार रुपैयाँ रकम उपलब्ध गराइने छ । विपदबाट पक्की घर पूर्ण रुपमा जलेर नष्ट भएमा तत्कालका लागि २५ हजार र आंशिक क्षति भएमा १५ हजार रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।
कच्ची घरको हकमा भने पूर्ण क्षति भएमा २० हजार र आंशिक क्षति भएमा १० हजार उपलब्ध गराइने बताइएको छ । ‘टहरोको हकमा पनि राहतको व्यवस्था गरेका छौ,’ समिति संयोजक एवं गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले भने, ‘पक्की टहरो पूर्ण रुपमा क्षति भएमा १० हजार र आंशिक क्षति भएमा ७ हजार राहत रकम उपलब्ध गराउने भन्ने छ ।’
कच्ची टहराको हकमा भने पूर्ण क्षति भएकाले ८ हजार र आंशिक क्षति भएकाले ५ हजार पाउने व्यवस्था भएको उनले जानकारी दिए । घरको आँगन, पर्खाल र करेसा तथा अन्य क्षति भएमा ३ हजार राहत पाउने व्यवस्था कार्यविधिमा उल्लेख छ । आगलागीबाट परालको कुन्योलगायत अन्य क्षति भएमा १० हजार पाउने बताइएको छ । पशुपन्क्षी तथा मत्स्यतर्फको पनि छुट्टै राहतको व्यवस्था गरिएको छ ।
विपदमा परी गाई, गोरु वा भैसी मरेमा १० हजारका दरले राहत रकम उपलब्ध गराइने छ । भेडा, बाख्रा, बंगुर र सँगुरको हकमा भने ५ हजार तोकिएको छ । दर्ता भई व्यवसायिक रुपमा पन्छी तथा मत्स्यपालन गर्दै आएका फर्ममा विपदबाट क्षति पुगेमा २० हजारका दरले राहत रकम पाउने पाउने व्यवस्था कार्यविधिमा छ । बैठकले विपदको समयमा राहत र उद्धारका लागि आवश्यक सामग्रीहरु खरिद गर्ने निर्णय समेत गरेको छ ।




