
अनुगमन टोली आउने डरले पसल थुनेर सुइँकुच्च ठोक्छन् व्यापारी
मेलिना बराम ।
आरुघाट बजारका केही पसलहरु बिहिबार दिन भरि बन्द भए । अनुगमन टोली आउने डरले अव्यवस्थित रुपमा सञ्चालन गरिएका पसलहरु दिनभरि बन्द रहेको उद्योग वाणिज्य संघ आरुघाट बजार इकाईका अध्यक्ष टिका नारायण श्रेष्ठले बताए ।
आरुघाट बजार बूढीगण्डकी डुबान क्षेत्रमा पर्दछ । त्यहाँका धेरै व्यवसायीहरुले सम्बन्धित निकायमा दर्ता पनि नगरी र प्यान, भ्याट पनि नलिई व्यापार गरिरहेका छन् ।
यसअघि पनि दुई तीन पटक बजार अनुगमन भई सकेको छ । अुगमनको क्रममा बजारमा म्याद गुज्रिएर समान भेटिएका थिए । पसलहरु पनि सम्बन्धित निकायहरुमा दर्ता नगरी सञ्चालनमा रहेको भेटिएका थिए । त्यस्ता पसलहरुलाई आगामि दिनमा म्याद गुज्रिएका सामान नष्ट गर्न र पसलहरु पनि दर्ता गरेर मात्र सञ्चालन गर्न पटक पटक चेतावनी दिइएको थियो । त्यस्ता पसलहरु अनुगमनको त्रासले बन्द गरिएको हो ।
‘बजार क्षेत्रमा अनुगमन भएको तीन पटक भइसक्यो । यहाँ दर्ता नभएका साना पसलहरु धेरै छन्’, उनले भने, ‘डुबानमा पर्छ, छोडेर जाने पसल किन दर्ता गर्नु भनेर कपाल काट्ने पसल तथा कतिपय साना भट्टी पसलहरु दर्ता नगरी चलाई रहेका छन् । तिनीहरुले नै डराएर बन्द गरेका हुन् ।’ उद्योग वाणिज्य संघले पनि दर्ता गरेर वैधानिक रुपले चलाउन आग्रह गरेता पनि अटेर गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाइ छ । केही ठूला पसलहरु भ्याटको कारणले तथा अन्य कर नतिरी चलेका पसलहरु पनि अनुगमन आउने डरले बन्द गरिएको उनले बताए ।
‘केही केही ठूला व्यवसायीहरु हार्डवेयर, किराना पसलहरुको भ्याटको कारोबारमा तलमाथि भएको छ । कारबाहीमा परिने हो कि भन्ने डरले बन्द गरेका हुन् । अरु कर नतिरी चलेका पसलहरु पनि बन्द भए’, उनले भने । बजार डुबान क्षेत्र भएकाले केही समय सञ्चालन गरेर छोड्नी हो भन्नी मानसिकताले पसलहरु दर्ता गर्नमा अटेर गर्ने गरेको उनले जानकारी दिए । ‘ठूला २,४ वटा खुद्रा दर्ता नगरेका १०, १५ वटा पसलहरु दिनैभरि बन्द थियो, तिनीहरु दिनैभरि पसल बन्द गरेर कता गए कुन्नि !’, उनले भने, ‘अब डुबान हुन लागेको छ । दुई चार महिनापछि छाडेर जाने हो भनेर अटेर गरेर बस्नेहरुले बन्द गरेका हुन् ।’
आरुघाट बजारमा गाउँपालिकाबाट केही दिन अघि अनुगमन गरिएको थियो । अनुगमनको क्रममा दर्ता नभएका पसलहरुलाई दर्ता गर्न आग्रह पनि गरिएको उनले बताए । ‘दुई चार दिन अघि नै हो अनुगमन आएको, अनुगमन टोलीले एक हप्ता पछि फेरि आउँछौ भनेको थियो’, उनले भने, ‘एकहप्ताभित्रमा दर्ता गर्न भनेको थियो दर्ता गरेका छैनन् होला । आज अनुगमन टोलीले आर्खेत बजारमा अनुगमनका लागि गएको रहिछ । त्यही टोली फर्किएर आउँछ भन्ने डरले बन्द गरे ।’
वडा नं. ९ का वडाध्यक्षले भने व्यावसायीहरुले स्वेच्छाले पसल बन्द गरेको बताए । ‘उनीहरु आफैले बन्द गरेको हो, कसैले बन्द गर् भनेको होइन आफ्नै स्वेच्छाले बन्द गरेको हो’ उनले भने । उनका अनुसार कर कार्यालयबाट अनुगमन आएको छ भन्नी भ्रमले बजार बन्द गरिएको हो ।
‘अनुगमन टोली निस्क्यो भनेपछि उनीहरुले पसल बन्द गरे तर कहाँ अनुगमन हो भन्ने उनीहरुले बुझेनन् । गाउँपालिकाको अनुगमन होइन कर कार्यालयबाट मान्छे आएको छन् रे भन्नी डर र भ्रमले पनि पसलहरु बन्द भए,’ उनले भने, ‘अघिल्लो शनिबार आरुघाट बजारमा करको अवस्था कस्तो छ भनेर बुझनलाई कर कार्यालयको हाकिम साब आउनु भएको रहेछ । कर कार्यालयबाट मान्छे आएको भनेर के के न भयो जस्तो गरेर प्यान, भ्याटमा दर्ता नभएका पसलहरु र दर्ता नगरी पसल चलाएकाहरुले डराएर पसल बन्द गरे ।’




