
गोप्लिङफाँटमा बन्नुपर्ने पुल अन्यत्र बनेको बिरोधमा स्थानीयको डेलिकेशन, काम रोकिदिन प्रजिअसँग आग्रह
गोरखा नगरपालिका–१४ को गोप्लिङफाँट स्थित मस्र्याङदी नदीमाथि टेण्डर भएर बन्न लागेको पक्की पुल अन्यत्र बनाउन खोजेको बिरोधमा उत्रिएका स्थानीय सोमवार जिल्ला प्रशासन कार्यालय गोरखामा डेलिकेशन आएका छन् । प्रमुख जिल्ला अधिकारीलाई भेटेर उनीहरुले टेण्डर भएकै ठाउँमा पुल निर्माण गर्न आग्रह गरेका छन् ।
प्रजिअसंगको भेटमा उनीहरुले गाउँबस्ती जोड्ने गरी टेण्डर भएको ठाउँमै पुल निर्माण हुनुपर्ने माग राखेका छन् । तनहूँ र गोरखा जोड्ने दुईसय मिटर लम्बाईको उक्त पुल निर्माणका लागि २०७७ भदौ १० गते एलिट कन्स्ट्रक्शन प्रालि काठमाण्डौंसँग सम्झौता भएको थियो । २६ करोड ६३ लागतमा बन्ने उक्त पुल निर्माणको काम २०८० फागुन ९ गते सक्नेगरी सम्झौता भएको थियो । तर अहिलेसम्म पुलको योजना बलपूर्वक अन्यत्र सारेर काम सुरु गरिएको स्थानीयको आरोप छ ।
निर्माण कम्पनीले टेण्डर भएको ठाउँबाट करिब ३ किलोमिटर तल तिखेबरस्थित पानी नभएको ठाउँमा पुल निर्माण कार्य सुरु गरेको उनीहरुले बताएका छन् । तिखेबरमा निर्माण भइरहेको पुलको काम रोकिदिन गोप्लिङफाँटका स्थानीयले प्रजिअ भोला दाहालसँग माग गरेका छन् ।
आम भेलाको माग गर्दै उनीहरुले निष्कर्ष नआएसम्म काम अघि बढाउन नहुने बताएका छन् । पुल योजना सेक्टर नम्बर ४ पोखराका प्राविधिक टिमले भने गोप्लिङफाँटमा पुल बनाउँदा राजमार्गलाई असर पर्ने भएकाले अन्यन्त्र सारिएको बताएको छ ।




