| आइतवार, कार्तिक २२, २०८३

वीरेन्द्रतालमा हिउँ पहिरो, बूढीगण्डकीमा पानीको बहाव बढ्यो, किनारका बासिन्दालाई सतर्क रहन आग्रह

गोरखा : माथिबाट झरेको हिउँ पहिरोले चुमनुब्री गाउँपालिका १ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ । बिहान पौने नौ बजे तालमा ठूलो हिउँ पहिरो झरेको वडा सदस्य धेजेन डोमाले जानकारी दिइन् ।

‘तालमाथिबाट ठूलो हिउँ पहिरो झ¥यो’, उनले भनिन्, ‘तालबाट गण्डकी जत्रै बाढी गएर बूढीगण्डकीमा मिसिएको छ । गण्डकी दोब्बर भएर बढेको छ ।’ पर्यटकीय सिजन भएकाले मनास्लु बेसक्याम्प, वीरेन्द्र ताल अवलोकन गर्न बिहान पर्यटक त्यसतर्फ गएको हुन सक्ने आशंका गरिएको उनले बताइन् ।

हिमपहिरोले सामागाउँबाट साम्दो जाने बाटोको काठे पुल बगाएको प्रहरीले जनाएको छ । ‘बूढीगण्डकीमा पानीको बहाब उच्च भएको छ । हामीले बूढीगण्डकी छेउ किनारका बासिन्दालाई सतर्क रहन जगत, माछाखोला लगायत विभिन्न ठाउँका चौकीहरुमा सूचना गरेका छौँ ।’

वीरेन्द्र तालमा हिउँ पहिरो त प्राय गइरहने तर अहिले ठूलो हिमपहिरो गएको वडाअध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्