
गोरखनाथ पार्क निर्माणमा पहिलो गाँसमै ढुंगा
गोरखा नगरपालिका–६ चण्डिनीडाँडामा धार्मिक एवं ऐतिहासिक गोरखनाथ पार्क निमार्ण गर्ने गोरखा नगरपालिकाको योजनालाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । पुरातत्व बिभागले स्वीकृती नदिएपछि काम अघि बढ्न नसकेको हो । ‘पार्क निर्माण हुने जग्गा पुरातत्व बिभाग अन्तरगत पर्छ,’ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले भने, ‘समन्वय गर्दा जग्गाको बिषयमा बिभागले सहमति दिएन ।’
उनका अनुसार करिव ११ रोपनी जग्गामा निर्माण गर्न लागिएको पार्कको २०७८ सालमा नै बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको थियो । बिभागसँग पटक पटक छलफल भई उक्त टोलीले पार्क निर्माण क्षेत्रको स्थलगत अवलोकन समेत गरेका थिए । तर, केही दिन अघि मात्र बिभागले जग्गाको विषयमा असहमति पत्र पठाएको सुवेदीले जानकारी दिए । ‘जग्गाको विषयमा हामीहरुले पहिले नै बिभागसँग बसेर छलफल समेत गरेका थियौँ, उहाँहरु सकरात्मक नै हुनुहुन्थ्यो तर केही दिन अघि मात्र असहमतिको पत्र पठाउनुभयो,’ उनले भने ।
गोरखनाथ पार्क गोरखा नगरपालिकामा पर्यटन प्रवद्र्धनको मुख्य संग्रह बन्न सक्ने बताउँदै उनले जग्गा प्राप्तिको लागी प्रसाय जारी राख्ने बताए । गोरखा नगरपालिका र नगर बिकास कोषको संयुक्त साझेदारीमा ‘गोरखनाथ पार्क’ को परियोजना सुरु भएको थियो । पार्क निर्माणका लागी करिब ८ करोड लागतको डिपिआर समेत तयार भइसकेको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए ।
उनका अनुसार पार्कमा ३० फिट उचाईको गुरु गोरखनाथको मूर्र्ति स्थापना गर्ने योजना छ । जग्गा विवाद टुंगो लागे पार्क निर्माणको काम छिटै सुरु हुने उनको भनाई छ । ‘जग्गाको विवाद मिल्यो भने पार्क निर्माणको प्रक्रिया छिटै सुरु हुन्छ’, उनले भने, ‘पार्कमा गोरखनाथको मूर्तिसँगै सुविधा सम्पन्न गेट, सटर, शौचालय, पार्किङ लगायतको संरचनाहरुको निर्माण हुनेछन् ।’ पार्क निर्माणले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




