
सिरानचोकमा बिद्यार्थीलाई लक्षित गरी एकीकृत स्वास्थ्य सेवा
सिरानचोक गाउँपालिकाभित्रका माध्यमिक तहका बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी एकीकृत स्वास्थ्य सेवा संचालन गरिएको छ । आँखाको स्क्रिनिङ, मानसिक स्वास्थ्य र योगा सम्बन्धी सेवा दिइएको गाउँपालिकाले जनाएको छ ।
‘प्रविधिमा चासो राख्ने भएकाले पछिल्लो समय बिद्यार्थीहरुले स्मार्ट फोनहरु बढी प्रयोग गर्छन्,’ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले भने, ‘यसले उनीहरुको आँखामा बढी समस्या गर्ने भएकाले स्क्रिनिङसँगै उनीहरुको आँखाको परीक्षण गराएका हौ ।’
परीक्षणको क्रममा आवश्यकता अनुसार बिद्यार्थीलाई चश्मा निशुल्क वितरण समेत गरिएको उनले बताए ।
पालिकाले मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण समेत गराएको छ । किशोरकिशोरीलाई मानसिक स्वास्थ्य सम्बन्धी समयमै जानकारी गराएमा भविष्यमा हुने दुर्घटना न्यूनिकरण गर्न सकिने गाउँपालिकाको अपेक्षा छ । सँगै योगा पनि जोडिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।
उनका अनुसार कुल १५ वटा सामुदायिक र एउटा निजी विद्यालयमा कार्यक्रम लागू गरिएको हो । एकीकृत घुम्ति स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत सेवा प्रदान गरिएको पालिकाले जनाएको छ । आगामी दिनमा यस कार्यक्रमलाई निरन्तरता दिदै थप परिस्कृत गर्दै लैजाने योजना रहेको पालिका अध्यक्ष गुरुङले बताए ।




