
जाइका फर्किएपछि ४० महिनादेखि विद्यार्थी टहरोमा
दरौँदी : बारपाक सुलिकोट गाउँपालिका ४ जौबारीको सिद्धार्थ माविका विद्यार्थी भूकम्प गएको ४० महिनादेखि टहरोमै पढ्दैछन् । जाईकाले विद्यालय भवन बनाइदिने प्रतिवद्धता फिर्ता लिएपछि भवन निर्माणको काम अनिश्चित भएको विद्यालयल जनाएको छ ।
भूकम्पपछि जाईकाले बिद्यालय भवन बनाइदिने प्रतिबद्धता गरेपनि नबनाएको प्रधानाध्यापक निमप्रसाद ढकालको बताए । पक्की भवन नहुँदा पठनपाठनमा समस्या हुने गरेको उनले बताए ।
‘भूकम्प गएको ४० महिना पनि बित्यो तर टहरोमै पढाउनु पर्ने बाध्यता छ’ उनले भने, ‘भूकम्प गएपछि जाइकाले २० रोपनी जग्गा भए भवन बनाईदिने भनेको थियो । स्कूलको जग्गा नभएपनि हामीले आर्थिक सहयोग जुटाएर जग्गा किन्यौँ । तर, जाइकाले भवन बनाईदिने प्रतिबद्धता नै फिर्ता लियो । 
फेसबुक अभियानबाट जग्गा ः
जाईकाले बिद्यालय भवन बनाउनका लागि २० रोपनी जग्गा आबश्यक पर्ने भनेपछि फेसबुक अभियानबाट सो परिमाणको जग्गा जुटाएको विद्यालयकी शिक्षिका निरुता तामाङले बताइन् । ‘हामीले फेसबुक अभियान सञ्चालन गरी जग्गा किन्न आबश्यक रकम संकलन गरेका थियौँ’, उनले भनिन्, ‘जसबाट हामीलाई करीब १५ लाख ५० हजार रुपैँया प्राप्त भएको थियो । त्यसैबाट बिद्यालयबाट केही माथिको जग्गा किन्यौँ । तर, भवन बन्न सकेन ।’ बिद्यालयले खरीद गरेको जमिन जाईकाका कर्मचारीले सर्भे गरेपछि आफ्नोे प्रतिबद्धता फिर्ता लिएको उनले बताईन् ।
सर्बे गरेपछि जाईकाका कर्मचारीले कुनै कारण नदेखाई, बिना सूचना प्रतिबद्धता फिर्ता लिएको प्रधानाध्यापक ढकालको भनाई छ । ‘उहाँहरुले गत असोज महिनामा सर्वेक्षण गर्नु भएको हो’ उनले भने, ‘सर्भे गरेपछि अब केही समयमै काम सुरु गर्ने भन्दै फर्कनु भएको थियो । त्यसपछि सम्पर्कमै आउनु भएन । त्यसैले गत बैशाख महिनामा शिक्षा कार्यालयमा बुझ्न जाँदा जाइकाले हाम्रो बिद्यालय बनाउने प्रतिबद्धता नै फिर्ता गरिसकेको रहेछ ।’
प्रतिबद्धत यस कारण फिर्ता लियो ः
भूकम्पपछि जापानी सहयोग नियोग जाईकाले सौरपानीको सिद्धार्थ माबिमा २४ कोठे भवन बनाईदिने प्रतिबद्धता गरेको थियो । बिद्यालयले भवन बनाउनका लागि उपलब्ध गराएको जमिन जाईकाले निर्धारण गरेको मापदण्डमा नपरेको जिल्ला शिक्षा तथा समन्वय इकाइ अन्तर्गत (जिल्ला आयोजना कार्यान्वयन इकाइ (डिएल पिआइयू)का प्रमुख रामप्रसाद आचार्यले बताए ।
‘विद्यालयले उपलब्ध गराएको जमिन जाईकाको मापदण्ड अनुसार परेन भन्ने जानकारी आएको छ’ उनले भने, ‘मैले बुझे अनुसार बिद्यालयले उपलब्ध गराएको जमिन भिरालो भएछ । त्यसैले उहाँहरुले प्रतिबद्धता फिर्ता लिनु भएको हो ।’
भवन बनाई दिने स्रोतको अभाव
जाईकाले बिद्यालय बनाईदिने प्रतिबद्धता फिर्ता लिएपछि त्यहाँका शिक्षकहरु भवन बनाई दिने स्रोतको खोजी गरिरहेका छन् । भवन बनाउन सहयोग गरिदिनका लागि आफु पटकपटक शिक्षा कार्यालय आउजाउ गर्ने गरेको प्रधानाध्यापक ढकालले बताए ।
‘भवन बनाईदिन सहयोग गर्दिनु हुन्छ कि भनेर म धेरै चोटी शिक्षा कार्यालय गई सकेँ’ उनले भने, ‘त्यहाँ सरहरुले पहल गरिरहेका छौँ । केही समयमा हुन्छ भन्नु हुन्छ ।’ बिद्यालयको भवन नहुँदा बिद्यार्थीहरुलाई चर्काे घाम लाग्दा र पानी पर्दा समस्या पर्ने गरेको उनले बताए । उक्त बिद्यालयको भवन निर्माण गर्नका लागि भारतीय दूतावास र एशियाली विकास वैंकसँग सम्झैता गर्ने प्रयास गरिरहेको जिल्ला शिक्षा तथा समन्वय इकाइ अन्तर्गत डिएलपिआइयूका प्रमुख आचार्यले बताए ।




