
क्यान्सर गराउने कटन क्याण्डी गोरखामा छ्यापछ्याप्ती, नियमनकारी निकाय मौन
प्रतीक्षा आले :
बिषालु खाद्यपदार्थ ‘कटन क्याण्डी’ गोरखाबजार र जिल्लाका अन्य बजार क्षेत्रहरुमा खुलेआम किनबेच हुने गरेको पाइएको छ । बिषाक्त भएका कारण भारतीय बजारमा पूर्ण प्रतिवन्ध लगाइएको ‘कटन क्याण्डी’ गोरखामा भने निर्बाध किनबेच भइरहेको हो ।
कपासको भुवा जस्तो देखिने गुलावी रङको खानेकुरा(कटन क्यान्डी) विषालु रहेको थाहा पाउँदा पाउँदै पनि मधेशी मूलका घुमन्ते व्यापारीहरुले मेला, जात्रा, मान्छेको भीड लाग्ने ठाउँहरुमा खुल्लमखुल्ला बेच्ने गरेका छन् ।
कटन क्याण्डी बिषाक्त छ भन्नेबारे बिबिसी हिन्दीले रिपोर्ट प्रशारण गरेपछि भारत सरकारले बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाएको थियो । भारतमा बन्देज लगाएपछि भारतीय मूलका तथा मधेशी मूलका व्यापारीहरुले गोरखा लगायत नेपालका बजारमा छ्याप्छ्याप्ती बेचबिखचन गरिरहेका छन् ।
भारतीय सरकारले कटन क्यान्डीको ल्याव परीक्षण गर्दा त्यसमा प्रयोग गरिने रङमा ‘रोडामाइन बी’ नामक बिषालु रसायन भेट्टाएको थियो । ‘रोडामाइन—बि’को सेवनले क्यान्सरजस्तो घातक रोग निम्तने हुँदा यसलाई भारतका सबै प्रदेशहरुमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको हो । तर नेपालमा भने ‘कटन क्यान्डी’ मेला महोत्सवका बेला जहाँतहीँ बेच्ने गरेको पाइएको छ । व्यपारीहरुले ठुल्ठुला कार्यक्रमहरुमा मिठाईको कोल नै लिएर कार्यक्रम स्थलमा यसलाई तयार गर्दै बिक्री गर्छन् ।
स्थानीयस्तरका खानेकुराहरु प्रवद्र्धन गर्ने भनिरहेको बेला जिल्लामा भने सानो कार्यक्रम आयोजना हुँदा पनि अखाद्य बस्तुले नै बजार पाइरहेको छ । यसप्रति स्थानीय प्रशासनको कुनै चासो गएको छैन । जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने तथा खाद्य गुणस्तरका सरोकारवाला निकायले जनस्वास्थ्यमा घातक विषालु पदार्थ बिक्री बितरण भइरहँदा नियमन गर्ने प्रयास गरेको पाइएको छैन ।
गण्डकी प्रदेश सरकारले पनि पटक पटक स्थानिय उत्पादन प्रवद्र्धन गर्ने भनिरहेको छ तर बजारमा स्थानीय परिकारहरुले भन्दा पत्रु(रेडिमेड) खानेकुराहरुले नै लोकप्रियता बटुलेको अवस्था छ । प्राय भारतीय र मधेशी मूलका व्यापारीहरुले बिक्री बितरण गर्ने कटन क्यान्डी जिल्लाका प्राय सबै बजारी क्षेत्रहरुमा सजिलै देख्न पाइन्छ । यो मिठाइ केटाकेटीदेखि युवायुवतीमा पनि लोकप्रिय छ । ५० रुपैँयामा पाइने कटन क्यान्डी स्वास्थ्यका लागि भने निकै हानीकारक छ ।
अमेरीकी र विभिन्न युरोपेली सरकारले कटन क्यान्डीमा प्रयोग हुने ‘रोडामाइन—बि’ लगायतका फुड कलरहरुलाई अवैध घोषणा गरेको छ । विश्वका धेरै देशहरुमा फुड कलरको प्रयोग या बिक्री वितरणमा पूर्ण निषेध गरेको छ । तर, जिल्लाबासीले रोडामाइन बी लगायतका अखाद्य रसायनहरु दैनिक रुपमा सेवन गर्दै आइरहेका छन् ।
गोरखा बजार क्षेत्रमा बिक्री वितरण हुने यस्ता खानेकुराहरु सेवन नगर्न गोरखा नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत इश्वर रेग्मीले आग्रह गरेका छन् । ‘बालबच्चाहरुले माग्यो भन्दैमा यस्ता अखाद्य बस्तुहरु किन्दिनु हुदैन । यस विषयमा हामी छिटो भन्दा छिटो एक्सन लिन्छौँ’, उनले भने । कटन क्यान्डी जस्तै बजारमा धेरै लोकप्रियता कमाएको खाजा चनाचटपटे, आलु चप लगायतका कलर राखेर तयार पारिएका खानेकुराहरु सेवन नगर्न स्वास्थ शाखाले आग्रह गरेको छ ।




