
पहिले धानखेती मासेर अलैँची, अहिले अलैँची मासेर धान
बहुमूल्य हुने भएकाले अलैचीलाई किसानहरु कालो सुन भनेर पनि चिन्छन् । मुलुकभर यसको आकर्षण बढ्दै गएपछि गोरखाको अजीरकोट गाउँपालिकाको हंशपुर र थालाजुङ क्षेत्रमा ३० बर्षअघिदेखि किसानहरुले अलैचीखेती गर्न सुरु गरेका थिए ।
२०५० को दशकदेखि सुरु गरिएको अलैँचीखेती अहिले छाड्दै गएका छन् । किसानी गर्नेको संख्या घट्दो क्रममा, बसाइँ सराइ बढ्दो क्रममा रहेको तथा अलैँची रोगाउँदै गएको र भाउमा पनि भारी गिरावट आउन थालेपछि किसानले अलैँची मासेर फेरि धानखेती गर्न थालेका स्थानीयबासी बताउँछन् ।
भाउ ह्वात्तै घटेको र गवारो लगायतका रोगले बाली नष्ट गरेकाले अलैची खेती गर्न छाड्दै गएको स्थानीय अलैची किसान गोविन्द गुरुङ बताउँछन् । ‘राम्रो आम्दानी हुन थालेपछि सबै किसानले भात खाने धानखेत मासेर अलैची खेती गर्न थालेका थिए । तर अहिले यस्तो गरी समय उल्टियो कि, अहिले अलैची फाँडेर धानखेती गर्न सुरु गरेका छन्’, गुरुङ भन्छन्, ‘पहिले अलैचीको भाउ प्रतिकिलो २२ सय, २३ सयसम्म थियो । अहिले घटेर प्रतिकिलो पाँचसय, छ सय रुपैयाँ भएको छ ।’ हंशपुरबाट मात्र बर्षेनी २० क्वीण्टल भन्दा धेरै अलैची बिक्री हुने गरेकामा अहिले त्यसको आधा जति मात्र बिक्री हुने उनको अनुमान छ ।
खरिबोट र हंशपुरमा २०३५, २०३६ सालदेखि अलैँची खेतीले प्रवेश गरेको हो । आजभन्दा १० बर्षअघिसम्म यहाँ अलैँचीको व्यवसाय चरम उत्कर्षमा पुगेको थियो । तर त्यसयता विस्तारै ओह्रालो लाग्दै गएको अर्का अलैची किसान बाबुराम घिमिरेको गुनासो छ । ‘पहिले धान मासेर अलैची लगाएको हो, अहिले न धान, न अलैँची भएको छ’, शिवशक्ति अलैँची समूहका सदस्यसमेत रहेका घिमिरेले भने, ‘मैले नै पोहोर साल अढाइ क्वीण्टल बेचेको हुँ ।
तर यसपटक २५, ३० किलोजति मात्र आउँछ होला । हाम्रो मात्र हो र ? सबैको उस्तै छ । पहिले जंगल फाँडेर अलैँची लगाएका थिए, अहिले जंगल बढेर अलैँची नाशिएको छ ।’ उतिस र बनमासाले अलैँचीलाई बिस्थापित गर्दै गएको उनको भनाइ छ ।
अलैँची नपाक्ने, भित्र कालो हुने ठाउँमा सेतो हुने जस्ता समस्याले सताएको गोरखाका अलैची किसानको गुनासो छ । ‘गतबर्ष मैले दुई क्वीण्टल बेचेको थिएँ । यसपटक त्यसको आधाजति पनि बिक्री हुन्न’, सिरानचोक गाउँपालिका २ थालाजुङका किसान धनबहादुर गुरुङ भन्छन्, ‘पकेट कार्यक्रम लागु भएको थियो । अहिले अलैचीबारी जंगलले ढाक्यो । पकेट कार्यक्रम पनि हरायो ।’
२०४७ सालदेखि गरेको अलैचीखेती हराउँदै जाँदा किसानहरु चिन्तित भएको उनको भनाइ छ । काम गर्ने जनशक्ति घटेका कारण पनि अलैची नफस्टाएको किसान बाबुराम घिमिरेको तर्क छ । ‘अहिले त गाउँमा युवा पनि छैनन् । कसले दुख गरेर जगाउँछ र अलैँचालाई’, उनी भन्छन्, ‘कृषि ज्ञानकेन्द्र, प्रदेशको कृषि मन्त्रालयलाई पनि गुहार गरेका हौँ । उताबाट माग सम्बोधन हुँछ कि भन्ने आशामा बसेका छौँ ।’




