
नगरलाई दूध र मासुमा आत्मनिर्भर बनाउने पालुङटारको तयारी
नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भन्दै पालुङटारले प्रयास थालेको छ । दूध र मासुमा आत्मनिर्भर बनाउन भन्दै यो बर्ष ५५ लाख रकम विनियोजन गरेर बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको नगरपालिका पशु शाखा प्रमुख रामप्रसाद देवकोटाले बताए । कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गाईभैसी वितरण भएको उनले जानकारी दिए ।
‘चार वटा समूह छनोट भएका थिए,’ उनले भने, ‘तीन वटा समूहलाई गाई र एउटा समूहलाई भैसी दियौ ।’ लाभान्वित हुनेमा पानपा वडा नम्वर ७ को जुरी खोला बहुउदेश्यीय कृषक समूह, खहरे उद्यमशिल युवा कृषक समूह र पानपा वडा नम्वर ९ को सफल पशुपंक्षी किसान समूह रहेका छन् ।
‘सफल पशुपंक्षी समूहमा आवद्ध कृषकहरुको संख्या धेरै भएकाले यो समूहलाई एउटा गाई र एउटा भैँसी दियौँ, अरुलाई भने एक/एक वटा गाई दिएका हौं,’ उनले भने । गाईको हकमा अधिकतम ४० हजार र भैसीको हकमा अधिकतम ६० हजार रुपैँया अनुदान रकम उपलब्ध गराइएको उनले जानकारी दिए । मुर्रा जातको भैसी र जर्सी एवं होलस्टिन फ्रिजियन जातको गाई वितरण गरिएको बताइएको छ ।
पानपा वडा नम्वर ७ स्थित जुडीखोला बहुउदेश्यीय समूह र खहरे कृषक समूहलाई चिलिङ भ्याट खरिदका लागि १५ लाख रकम समेत उपलब्ध गराइएको पालिकाले जनाएको छ । मासुमा आत्मनिर्भर बनाउन पानपा ६ को सुनौलो बाख्रा पालन समूहलाई दुई वटा बोयर बोका वितरण गरिएको देवकोटाले बताए । गोठ सुधार, औषधी र घाँसका लागि पनि अनुदान रकम उपलब्ध गराउँदै आएको पालिकाले जनाएको छ । औषधी र घाँसका लागि बार्षिक २५ हजारका दरले रकम उपलब्ध गराइएको बताइएको छ ।




