| आइतवार, कार्तिक २२, २०८३

एमाले गोरखाको नेतृत्व चयनका लागि मतदात हुँदै


नेकपा एमाले गोरखाको नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर थापा र कृष्णबहादुर नेपाली बीच बिहान १० बजेबाट मतदान प्रक्रिया सुरु भएको हो ।


यसअघि अध्यक्ष पदमा उम्मेद्वारी दिएका रामचन्द्र लामिछाने(आरसी)ले उम्मेद्वारी फिर्ता लिएपछि दुई जना बीच चुनावी प्रतिस्पर्धा भएको हो ।


त्यस्तै उपाध्यक्ष एक सिटका लागि तीनजना चुनाव लड्ने भएका छन् । सर्वसम्मत गराउने प्रयास सफल नभएपछि मेनबहादुर अधिकारी, कृष्ण काप्री र कमल दानी बीच मतदान प्रक्रिया अघि बढेको पार्टी स्रोतले जनाएको छ । सचिवको एक सिटका लागि पनि दुुई जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेकाका छन् । काजीराम रोका र उपेन्द्र देवकोटाको उम्मेद्वारी परेको हो ।


एक महिला र एक खुल्ला उपसचिवका लागि पनि सर्वसम्मत गर्ने प्रयत्न जारी छ । खुल्ला उपसचिवतर्फ मनोज जोशी, विष्णु पन्त र संजीव श्रेष्ठको उम्मेद्वारी परेको छ भने महिलातर्फको उपसचिवका लागि शान्ति चापागाई र नानुमाया थापा मगरको उम्मेद्वारी परेको पार्टीस्रोतले जनाएको छ ।


सदस्यहरु भने अधिकांश सर्वसम्मत भइसकेका छन् ।


यसअघि शुक्रबारदेखि चलेको बन्दसत्रले अध्यक्ष प्रेम गुरुङको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन सुझावहरुका आधारमा संशोधनसहित पास गरेको छ । अध्यक्ष गुरुङले योग्यता र क्षमताका आधारमा पार्टीको जिम्मेवारी सुम्पने र कामका आधारमा मूल्यांकन गर्ने परिपार्टी बसाल्नु पर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यस्तै पार्टी पंक्तीलाई उत्पादनसंग जोड्नुपर्ने पनि उल्लेख गरेका छन् ।


वार्षिक कार्ययोजना बनाएर पार्टी अघि बढ्ने, मिसन ८४ का लागि सदस्य वितरणको चरणदेखि नै मतदाताको पूर्वानुमान गर्दै जाने, पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने तर पद पाएपछि जिम्मेवारीबाट पन्छिने प्रवृत्ति अन्त्य गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।


त्यस्तै अहिले जिल्लाको राजनीतिक शक्ति सन्तुलन र एमालेको भूमिका सहितको सम्भावनाको पहिचान गर्ने अवसर मिलेको भन्दै यसलाई व्यवस्थित गरेर अघि बढ्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्