| आइतवार, कार्तिक २२, २०८३

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विविध कार्यक्रम

११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा समाजवादी मोर्चा गोरखा अन्तर्गत महिला संगठनहरुको मोर्चाले कार्यक्रमको आयोजना गरेको छ ।

मोर्चाले बिहिबार गोरखा सदरमुकामस्थित जिल्ला समन्वय समिति सभाहलमा कार्यक्रम गरेको हो । ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थलानी’ मुल नाराका साथ मोर्चाले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा लैङ्गिक समानता तथा महिलाको हक अधिकार सुनिश्चितताको बारेमा छलफल एवं अन्तरक्रियासमेत भएको समाजवादी मोर्चाका गोरखा जिल्ला अध्यक्ष यादव बस्नेतले बताए ।

कार्यक्रममा पूर्वमन्त्री, नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उनले वर्तमान समाजमा महिलाको अवस्था बारे चर्चा गरेकी थिइन् । पूर्वमन्त्री झाँक्रीले श्रमिक महिलाहरुको हक अधिकार सुनिश्चित हुनु पर्ने बताइन् ।
विप्लब नेतृत्वको नेकपाकी महिला संगठनकी नेतृ माया सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री झाँक्री, विप्लव नेतृत्वको नेकपाकी महिला संगठनकी केन्द्रीय उपाध्यक्ष भृकुटी सी, नेकपा माओवादीकी केन्द्र्रीय सदस्य भगवती तिवारी, नेकपा एकीकृत अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष सकुन्तला खत्री लगायतले मन्तव्य राखेका थिए ।
आरुघाटमा पनि कार्यक्रम
महिला दिवसकै अवसरमा आरुघाट गाउँपालिकाले पनि कार्यक्रमको आयोजना गरेको छ ।

बिहिबार गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा कार्यक्रमको आयोजना गरेको हो ।
गाउँपालिकाले आफ्नो पालिकाभित्रको वडा स्तरीय महिला समूहमा आबद्ध महिलाहरुको नेतृत्व विकास, बजेट संचालन, प्रस्तावना लेखन तथा समुह संचालन लगायतका विषयमा अभिमुखीकरण कार्यक्रम संचालन गरेको थियो ।
यस्तै, पालिकाले सहभागी महिला समूहका सदस्यहरु बीच विभिन्न विषयहरुमा प्रस्तावना लेखन प्रतियोगिताको समेत आयोजना गरेको थियो ।

प्रस्तावना लेखन प्रतियोगितामा गण्डकी गाउँपालिका वडा नं ७ को वडा स्तरीय महिला समुह प्रथम भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी, प्रतियोगितामा वडा नं १ दोस्रो र वडा नं ८ अन्तर्गतको महिला समुह तृतीय भएका छन् । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने महिला समुहहरुले नगद पुरस्कार समेत प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाको प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरु, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

एम्नेस्टीले पनि मनायो महिला दिवस
यता ११४ औँ महिला दिवसकै अवसरमा एमनेष्टी इन्टरनेशनल महिला समूह ४२ र एमनेष्टी इन्टरनेशनल ७६ नामक संस्थाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको छ ।
बिहिबार नै सो संस्थाहरुले गोरखा नगरपालिका ६ स्थित बालमन्दिर मावि, छहरेको कक्षा ८ र ९ मा पढ्ने करिब ७० जना विद्यार्थीहरुलाई महिला हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको थियो ।

पछिल्लो समय महिला हिंसा सम्बन्धी घटनाहरु बढेकाले विद्यायलय स्तरमा सचेतना मुलक अभिमुखिकरणको आयोजना गरिएको एमनेष्टी इन्टरनेशनल महिला समूह ४२ की गोरखा संयोजक सरिता अर्यालले जानकारी दिइन् । अभिमुखिकरणले विद्यार्थी साथै अभिभावक र सिंङगो समाज नै सचेत हुने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्