| आइतवार, कार्तिक २२, २०८३

पालुङटारले व्यवसायीलाई दिएको चार करोड ऋण फिर्ता भएन, फिर्ता नगर्नेेलाई सेवा सुविधा रोक्ने चेतावनी

व्यवसाय गरेर स्वरोजगार बन्न चाहने नगरबासीलाई प्रोत्साहन गर्ने उद्देश्यले पालुङटार नगरपालिकाले उपलब्ध गराएको चार करोड ऋण पाँचबर्ष बितिसक्दा पनि फिर्ता भएको छैन । तीन बर्षका लागि भन्दै २०७५ सालमा ऋण प्रवाह गरेपनि अधिकांशले फिर्ता नगरेको पालिकाले जनाएको छ ।

बार्षिक दुई प्रतिशत ब्याजदरमा ५० हजारदेखि बढीमा ६ लाखसम्म उनीहरुलाई ऋण उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । ‘स्व–आर्जन प्रवद्र्धन कोषमार्फत उहाँहरुलाई २०७५ सालमा तीन बर्षका लागि ऋण दिइएको थियो,’ उनले भने, ‘करिव चार सय जनाले ऋण लानुभयो, तर अहिले २० जना जतिले मात्र ऋण क्लिअर गर्नुभएको छ, बाँकीले छैन ।’

ऋण लानेमा व्यवसाय संचालन गर्दै आएका जनप्रतिनिधि, कर्मचारी र शिक्षक पनि रहेको उनले जानकारी दिए । ‘चारजना जति जनप्रतिनिधि नै हुनुहुन्छ, पाँच जना जति शिक्षक र कर्मचारी पनि हुनुहुन्छ बाँकी अन्य व्यवसायीले ऋण लानुभएको हो,’ उनले भने । ऋण रकम नउठेपछि पालिकाले दुई बर्षयता कोषमा रकमसमेत हालेको छैन ।

‘२०७५ सालदेखि कोष स्थापना गरेर बर्षैपिच्छे बजेट हाल्ने गरेका थियौँ, तर लगेको ऋण नै नउठेपछि दुई बर्षदेखि बजेट हाल्नै छाड्यौँ,’ उनले भने ।लगेको ऋण रकम फिर्ता गर्न पालिकाले अन्तिम पटकका लागि चैत र बैशाख मसान्तसम्मका लागि समयसीमा तोकेको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई चैत्र मसान्त र अन्य व्यवसायीलाई बैशाख मसान्तसम्मको समयसीमा दिएको हो ।

उक्त समयसीमाभित्र पनि ऋण रकम चुक्ता नगरे जनप्रतिनिधि, कर्मचारी र शिक्षकको हकमा तलव भत्ताबाट रकम कट्टा गर्ने र अन्य ऋणीको हकमा सेवा सुविधा रोक्का गर्न सम्बन्धित कार्यालयमा पत्राचार गर्ने पालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्