| आइतवार, कार्तिक २२, २०८३

अढाइ वर्ष बित्यो, भीमकुल सहकारीबाट २६ लाख चोर्ने अझै पक्राउ परेनन्

प्रतीक्षा आले :

भीमसेनथापा गाउँपालिका ८ स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फुटाएर २६ लाख ३९ हजार रुपैँया चोरी भएको दुई वर्ष बितिसक्यो अझै चोर पत्ता लागेको छैन ।

सञ्चालक समितिको लापरबाहीका कारण अहिलेसम्म चोर पक्राउ नपरेको सेयर सदस्यहरुको आरोप छ । सुरक्षमा लापरवाही गरेका कारण पनि चोरी भएको उनीहरुको गुनासो छ ।

‘किन अहिलेसम्म खोजी नभएको भनेर सध्दा अनुसन्धान भइरहेको छ भन्छन्’, सेयर सदस्य चिनी माया नेपालीले भनिन्, ‘सिसिटिभी क्यामेरामा हेर्दा माक्स लगाएर आको मोटो मान्छे छ को हो को हो भन्छन् ।’ २६ लाख चोरी भएपछि आफुहरुको सेयर समेत घटेको नेपालीले बताइन् ।

‘पैसा चोरी भएपछि सबैजनाको सेयर पैसा घटेको छ भनेका छन्’, उनले भनिन्, ‘तर यति पैसा घट्यो भनेरचाँही भनेका छैनन् ।’ समितिको मनोमानी भएको उनले आशंका गरिन् ।

यता सहकारीका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले भने प्रहरीको सुस्त अनुसन्धानका कारण अहिलेसम्म चोर पक्राउ नपरेको बताए । ‘प्रहरीले गम्भीर अनुसन्धान गरेको भए अहिलेसम्म चोर पक्राउ परिसक्थ्यो’, उनले भने, ‘प्रहरीले खोजी भइरहेको छ भनेर सानत्वना मात्र दिन्छ ।’ सुरक्षा निकायले स्थलगत अनुसन्धान गर्नु पर्ने श्रेष्ठले बताए । सहकारी संस्थाका व्यवस्थापक नवराज श्रेष्ठले पनि घटना सिआइबीसम्म पुगेको बताए ।

‘अनुसन्धान भईरहेको छ भन्नु हुन्छ बेला बेलामा सुचनाहरु माग्नु हुन्छ, हामीले आवश्यक सहकार्य गर्दै आएका छौँ’, उनले भने, ‘तर परिणाम देखिएको छैन ।’ यता प्रहरीले भने आवश्यक अनुसन्धान भइरहेको बताएको छ । ‘हामीले अनुसन्धान गरिरहेका छौँ’, प्रहरी निरीक्षक शेखर खड्काले भने, ‘घटनापछि शंकास्पद मान्छेहरु ल्याएर खोजी कार्य पनि ग¥यौ, प्रहरीले निरन्तर खोजी गरिरहेको छ ।

’ चोरी हुनासाथ गाउँलेहरु घटनास्थलमा पसेर अभियुक्तको फिङ्गरप्रिण्ट नै नष्ट हुने गरी जथाभावी सामान चलाउँदा अनुसन्धानमा कठिनाइ आएको आरोप प्रहरीको छ । प्रहरीले कर्मचारी, संचालक समितिको पनि लापर्वाही रहेको जनाएको छ ।

नेफ्स्कुनबाट दुईपटकसम्म प्रावेशन ब्राण्ड पाएको, २०७७ मा गण्डकी प्रदेश सरकारबाट पुरस्कृत भएको भीमकुल साकोस गोरखाको उत्कृष्ट साकोसमध्ये पर्छ ।

४ हजार १७५ जना सेयर सदस्य रहेको सो साकोसको कुल पुँजी ४१ करोड रहेको छ । दैनिक वैंकिङ सेवा, आइएमई सेवा सञ्चालन गरेको सो साकोसले कूलपुँजीको दुई प्रतिशत रकम कार्यालय भवनभित्रै राख्न पाउने प्रावधानअनुसार केही रकम राख्ने गरेको थियो । सोही क्रममा २०७८ साल असार २५ गते राती तीन बजेर २२ मिनेट जाँदा सहकारीको भवन फुटाएर अज्ञात व्यक्तिले २६ लाख ३९ हजार रुपैयाँ चोरेर फरार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्