
सिरानचोकमा सञ्चालित स्वास्थ्य शिविरमा १४ सय बढि लाभान्वित
सिरानचोक गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा आयोजित स्वास्थ्य शिविरमा १४२६ जनाले स्वास्थ्य लाभ लिएका छन् ।
पालिकाका १५ वटा माध्यमिक र एक निम्न माध्यमिक विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा १४ सय भन्दा धेरैले स्वास्थ्य लाभ लिएका पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
पालिकाको आयोजना र शिक्षा र स्वास्थ्य शाखाको संयोजनमा विद्यालय स्तरीय आँखा जाँच तथा मानसिक स्वास्थ्य तथा आयुर्वेद शिक्षा कार्यक्रम सम्पन्न गरिएको हो । सो कार्यक्रम गत असोजको दोस्रो सातादेखि सुरु भएर गत शुक्रबार सम्पन्न भएको स्वास्थ्य शाखाका वरिष्ठ अहेब रामचन्द्र पाण्डेले जानकारी दिए । ‘माध्यमिक तहका विद्यार्थीहरुलाई केन्द्रित गरी कार्यक्रम गरिएको हो । तर त्यहाँ जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय व्यवस्थापन समिति पनि सहभागी हुनुुहुन्थ्यो’, पाण्डेले भने, ‘१२ सय ६८ जना विद्यार्थी, ११३ जना शिक्षक, २१ जना जनप्रतिनिधि, २४ जना जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुले पनि स्वास्थ्य लाभ लिनुभएको थियो ।’
कार्यक्रममा नकारात्मक सोच न्यूनिकरण, सकारात्मक सोचको विकास गर्न योग, ध्यान, प्राणायाम, भ्रामरी, अनुलोम, बिलोम आदि पनि गराइएको उनले बताए । साथै आयुर्वेद स्वास्थ्य पद्धतिको परिचय, यसको महत्व, स्थानीय स्तरमा पाइने जडिबुटी लगायतका आयुर्वेदिक औषधीको चिनारी र प्रयोग विधिका बारेमा पनि अभिमुखीकरण गराइएको थियो ।
शिविरमा पालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब एवं मनोसामाजिक परामर्शकर्ता रामचन्द्र पाण्डे, सिरानचोक आँखा उपचार केन्द्रकी नेत्र सहायक सोनिया थापा मगर र सिरानचोक नागरिक आरोग्यकेन्द्रकी वैद्य मञ्जु थारुले सहजीकरण गरेका थिए । कार्यक्रम आइकेयर फाउण्डेशन, गोरखा लायन्स आँखा सेवा केन्द्र र नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।




