
दादुरा–रुवेला खोप जिल्ला आइपुग्यो, आजबाट स्थानीय तहमा पठाइने
यही फागुन १६ गतेबाट संचालन हुने दादुरा रुवेला बिरुद्धको खोप अभियानका लागी स्वास्थ्यकर्मी तथा खोप कार्यकर्ताहरुलाई अभिमुखिकरण गरिएको छ । बिभिन्न चरण गरेर जिल्लाका एघार वटै स्थानीय तहका स्वास्थ्यकर्मी तथा खोप कार्यकर्तालाई अभिमुखिकरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका खोप शाखा निरिक्षक नानीबाबु दानीका अनुसार यही फागुन १ गतेबाट अभिमुखिकरण तालिम शुरु भएको थियो । ९ गतेसम्म तालिम संचालन भएको उनले जानकारी दिए । फागुन १६ देखि २२ गतेसम्म संचालन हुने अभियानमा १४ हजार बढी बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।
९ महिनादेखि ५ बर्ष मुनिका बालबालिकालाई यो खोप लगाइने खोप शाखा निरिक्षक दानीले बताए । ‘खोप पनि कार्यालयमा आइसक्यो, भोलीबाट सम्बन्धित पालिकाहरुमा पठाउन शुरु गर्छाै,’ उनले भने । यता गोरखा नगरपालिकाले फागुन १६ देखि २० गतेसम्म अभियान संचालन गर्ने बताएको छ ।
शुक्रवार बसेको नगरपालिका स्तरीय खोप समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । ३ हजार २ सय ४८ लक्षित संख्या रहेको नगर स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए । अभियान संचालनका लागी ४८ वटा खोप केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । ९६ जना स्वयमसेवक र २८ जना तालिम प्राप्त जनशक्ति खटिने बताइएको छ ।




