
गोरखाका पालिकाहरुको वित्तीय प्रगति एकतिहाइ भन्दा कम
आर्थिक बर्षको आठ महिना बितिसक्दा गोरखाका पालिकाहरुको वित्तिय प्रगति भने एक तिहाइ भन्दा पनि कम रहेको छ ।
जिल्लाका सबै पालिकाको हालसम्मको खर्च प्रगति विश्लेषण गर्दा १४ प्रतिशतदेखि अधिकतम ३७ प्रतिशतसम्म मात्र रहेको पाइएको छ । सबैभन्दा कम चुमनुब्री गाउँपालिकाले हालसम्म १४.६१ प्रतिशत मात्र खर्च गरेको छ । सबैभन्दा धेरै पालुङटार नगरपालिकाले खर्च गरेको छ । सो पालिकाले हालसम्म ३७.३४ प्रतिशत खर्च गरेको जनाएको छ ।
चुमनुब्री गाउँपालिकाको चालु आर्थिक बर्षको कूल बजेट ४२ करोड, २५ लाख, चार हजार रहेको छ । हालसम्म कूल बजेटको १४.६१प्रतिशत मात्र खर्च भएको गाउँपालिकाका प्रमुख निमा लामाले जानकारी दिए । पालिकाको चालुतर्फको २५ करोड ९७ लाखमध्य २०.४६ प्रतिशत खर्च भएको छ भने पुँजिगततर्फको १६ करोड २८ लाख बजेटमध्य ४.६३ प्रतिशत मात्र खर्च भएको पालिकाले जनाएको छ ।
त्यस्तै दोस्रो कम खर्च गर्नेमा गोरखा नगरपालिका रहेको छ । सो नगरपालिकाको अर्धवार्षिक वित्तीय प्रगति जम्मा २१.५५ प्रतिशत रहेको छ । एक अर्ब दुई करोड, ६७ लाख, ३८ हजार कूल बजेट रहेको गोरखा नगरपालिकाले पहिलो छ महिनामा २२ करोड १३ लाख मात्र खर्च गरेको छ । जसमध्य पुँजीगततर्फको ३२ करोड ४६ लाख ५२ हजारमध्य दुई करोड ७७ लाख अर्थात ८.५५ प्रतिशत मात्र खर्च गरेको छ भने चालुतर्फको कूल रकम ७० करोड २० लाख ८६ हजारमध्य १९ करोड ३५ लाख २७ हजार अर्थात २७.५६ प्रतिशत खर्च गरेको पालिकाले जनाएको छ ।
अर्को कम खर्च गर्ने पालिकामा धार्चे गाउँपालिका रहेको छ । ५१ करोड, ९२ लाख, ९४ हजार कूल बजेट रहेको धार्चेले हालसम्म १३ करोड २० लाख २७ हजार अर्थात २५.४ प्रतिशत मात्र वित्तीय प्रगति गरेको छ । सो पालिकाको चालुतर्फ ३१ करोड पाँचलाख, ९० हजारमध्य कूल बजेट रहेकामा १० करोड ८१ लाख, ७२ हजार अर्थात ३४.८ प्रतिशत खर्च गरेको छ भने २० करोड ८७ लाख चार हजार पुँजीगत बजेट रहेकोमध्य जम्मा दुई करोड ३८ लाख, ५४ हजार अर्थात ११.४ प्रतिशत बजेट मात्र खर्च गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए ।
पनिकूल ५८ करोड, १६ लाख, १७ हजार बजेट रहेको आरुघाट गाउँपालिकाले हालसम्म ३०.४७ प्रतिशत खर्च गरेको छ । जसमध्य चालुतर्फ ३९.१२ प्रतिशत र पुँजीगततर्फ जम्मा ११.८८ प्रतिशत मात्र खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।
८३ करोड, २१ लाख, ६० हजार कूल बजेट रहेको सिरानचोक गाउँपालिकाले हालसम्म जम्मा २६ करोड सातलाख ४८ हजार अर्थात३१.३३ प्रतिशत मात्र वित्तीय प्रगति गरेको छ । चालुतर्फ २२ करोड २३ लाख १६ हजार अर्थात ४२.७१ प्रतिशत र पुँजीगततर्फ तीन करोड ८४ लाख ३२ हजार अर्थात १२.२५ प्रतिशत वित्तीय प्रगति गरेको गाउँपालिका प्रमुख ज्ञानेन्द्र गुरुङले जानकारी दिए ।
त्यस्तै ६२ करोड, ९१ लाख, ०९ हजार कूल बजेट रहेको बारपाक सुलीकोट गाउँपालिकाले हालसम्म जम्मा ३१.४७ प्रतिशत वित्तीय प्रगति गरेको छ । चालुतर्फ ३५.५४ प्रतिशत र पुँजीगततर्फ २०.८८ प्रतिशत खर्च गरेको गाउँपालिकाका प्रमुख विष्णु भट्टले जानकारी दिए ।
६४ करोड नौलाख ३७ हजार कूल बजेट रहेको भीमसेन थापा गाउँपालिकाले पनि हालसम्म जम्मा ३२.२२ प्रतिशत मात्र वित्तीय प्रगति गरेको जनाएको छ । जसमध्य चालुतर्फ ३७.९३ प्रतिशत र पुँजीगततर्फ १८.८४ प्रतिशत वित्तीय प्रगति भएको प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले जानकारी दिए ।
६७ करोड ८७ लाख ९४ हजार कूल बजेट रहेको गण्डकीगाउँपालिकाको वित्तीय प्रगति २२ करोड एकलाख २७ हजार अर्थात ३३.२१ प्रतिशत रहेको छ । चालुतर्फको कूल बजेट ४६ करोड ९३ लाख ४० हजार मध्य १७ करोड ८१ लाख ६० हजार अर्थात ३७.९६ प्रतिशत र पुँजीगततर्फको कुल बजेट १९ करोड ३४ लाख ५४ हजारमध्य चार करोड १९ लाख ६६ हजार अर्थात २१.६९ प्रतिशत खर्च गरेको लेखा शाखाले जनाएको छ ।
कूल ४९ करोड ३४ लाख ९३ हजार कूल बजेट रहेको अजीरकोटगाउँपालिकाको वित्तीय प्रगति१७ करोड २३ लाख ७३ हजार अर्थात ३३.३९ प्रतिशत रहेको छ । जसमध्य चालुतर्फ११ करोड ८३ लाख १४ हजार अर्थात ३७.१९ प्रतिशत र पुँजीगततर्फ पाँच करोड ४० लाख ५९ हजार अर्थात २७.३० प्रतिशत वित्तीय प्रगति भएको सूचना अधिकारी अमरराज पँगेनीले जानकारी दिएका छन् ।
६२ करोड ६ लाख ५१ हजार कूल बजेट रहेको सहिद लखनगाउँपालिकाको वित्तीय प्रगति ३३.९० प्रतिशत रहेको छ । जसमध्य चालुतर्फ १६ करोड ६९ लाख १५ हजार अर्थात ३९.०२ प्रतिशत र पुँजीगततर्फ पाँच करोड दुईलाख २३ हजार अर्थात २३.६० प्रतिशत वित्तीय प्रगति भएको गाउँपालिकाले जनाएको छ ।
९६ करोड, ४८ लाख, ८ हजार कूल बजेट रहेको पालुङटार नगरपालिकाले भने २६ करोड तीनलाख छ हजार अर्थात ३७.३४ प्रतिशत वित्तीय प्रगति गरेको छ ।चालुतर्फ २३ करोड ७८ लाख ६ हजार अर्थात ४१.०२ प्रतिशत र पुँजीगततर्फ१२ करोड २४ लाख ९९ हजार ९३२ अर्थात ३१.८१ प्रतिशत वित्तीय प्रगति गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
भौगोलिक अवस्थिति तथा कर्मचारी अभावका कारण वित्तीय प्रगति अपेक्षाकृत हुन नसकेको चुमनुब्री गाउँपालिकाका प्रमुख निमा लामाको भनाइ छ । गाउँपालिका सडक सञ्जालले नजोडिँदा निर्माण सामग्री ढुवानी गर्न नसक्नु, हिमपातका कारण काममा अवरोध हुनु लगायतका चुनौतिका कारण सोचेजस्तो कार्य प्रगति देखाउन नसकिएको उनको भनाइ छ ।
झञ्झटिलो खरिद प्रक्रिया, समयमा बजेट निकासा नहुनु, अन्तर शाखा संघीय इकाइहरु बीच समन्वयको अभावले पनि प्रगति अपेक्षकृत हुन नसकेको आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठको भनाइ छ । भौतिक प्रगति भइरहे पनि भुक्तानी हुने प्रक्रिया चलिरहेको हुँदा वित्तीय प्रगति कम देखिएको हुनसक्ने उनको भनाइ छ ।
खरिद प्रक्रिया झञ्झटिलो हुनु, कर्मचारी अभाव हुनु, स्थानीय कामदारको अभाव हुनु, बजेटको सुनिश्चितता नहुनुले पनि वित्तीय प्रगति अपेक्षाकृत नभएको सिरानचोक गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र गुरुङको भनाइ छ ।




