
बसपार्कदेखि खोलखोलेसम्म फुटपाथ निर्माणको प्रक्रिया सुरु
जिल्ला सदरमुकामको बसपार्कदेखि खोलखोलेसम्म व्यवस्थित फुटपाथ सहितको सडक चौडा गर्ने कामको लागि ठेक्का आव्हानको तयारी भएको छ । गत माघ २८ गते बसेको नगर कार्यपालिका बैठकबाट निर्णय भइसकेको जानकारी दिदैँ नगर प्रमुख कृष्ण राना मगरले छिट्टै ठेक्का प्रक्रिया अघि बढ्ने बताए ।
‘समानिकरण योजनाका लागि योजना आयोगमा पठाउने निर्णय पनि भएको छ,’ उनले भने, ‘स्वीकृत भएर आयो भने सहज हुन्छ, भएन भने नगरपालिकाकै खर्चबाट त्यो योजना सम्पन्न गर्छाै ।’ उक्त योजनाका लागि यो बर्ष नगरपालिकाले ९० लाख विनियोजन गरेको उनले जानकारी दिए । योजना सम्पन्न गर्न करिव १३ करोड लाग्ने बताइएको छ ।
‘फुटपाथलाई व्यवस्थित गरिन्छ र सडक पनि केही चौडा हुन्छ । फुटपाथ मिचेर बनाइएका केही संरचनाहरु छन्, त्यो हटाउँछौ,’ मेयर मगरले भने ।सुन्दर नगर निर्माण गर्न सडक फुटपाथ निर्माण गर्न लागिएको उनको भनाइ छ । उक्त योजनाका लागि केही समय अघि सर्भे समेत भइसकेको छ ।




