
चीनसंगको नाका खुलाउन माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण
चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिले चीनसंगको नाका खुल्ला गर्न पहल गरिदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । गाउँपालिकाका अध्यक्ष निमा लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नाका खुलाउने वातावरण बनाइदिन माग गरेका हुन् ।
कोभिड १९ महामारी सुरु भएपछि चीन सरकारले २०७६ सालदेखि चुमनुब्री र तिब्बती सीमास्थित रुइला र ङुइला नाका एकातर्फी रुपमा बन्द गरेको छ । नाकाबन्द हुँदा नजिकको तिब्बती बजारमा गई दैनिक उपभोग्य बस्तु खरिद गर्न तथा सीमा वारपारका आफन्तहरु भेटघाट गर्नसमेत समस्या भएको स्थानीयबासीको गुनासो छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले नाका खुलाउनका लागि संवेदनशील भएर कुटनीतिक पहल गर्ने जनाएका थिए ।
साथै जनप्रतिनिधिले पेश गरेको ज्ञापनपत्रमा मनास्लु क्षेत्रमा लागु गरिएको निषेधित क्षेत्रले स्थानीयबासीलाई दैनिक जीवनयापनमा समेत दुश्प्रभाव पारेको भन्दै निषेधित क्षेत्रको व्यवस्था हटाइदिन माग गरिएको छ । त्यस्तै सीमा क्षेत्रका सामागाउँ र छेकम्पारमा बोर्डर आउटपोस्ट(बिओपी) स्थापना गर्न पनि माग गरिएको छ । चुम्चेत र बिहीमा प्रहरी चौकी स्थापना गर्न पनि ज्ञापनपत्रमार्फत स्थानीयबासीले माग गरेका छन् ।
एउटै समुदायको बाक्लो बसोबास रहेको स्थानलाई विशेष क्षेत्र घोषणा गर्न मिल्ने संवैधानिक व्यवस्था लागु गर्दै भोटे लामा समुदायको बसोबास रहेको चुमनुब्री गाउँपालिकालाई विशेष क्षेत्र घोषणा गर्न माग गरेका छन् । चुमनुब्री ३ को देवल गाउँका ७६ घरधुरी र चुमनुब्री ६ को लोक्पा गाउँ पहिरोको अत्याधिक जोखिममा रहेकाले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न पनि जनप्रतिनिधिहरुले माग गरेका छन् ।




