| आइतवार, कार्तिक २२, २०८३

आँपपिपल अस्पताल ५० शैयामा स्तरोन्नति हुने

पालुङटार नगरपालिका वडा नम्वर ३ मा रहेको आँपपिपल अस्पताल ५० शैयामा स्तरोन्नति हुने भएको छ । नेपाल सरकारको आइतवार बसेको क्याविनेट बैठकले सो निर्णय गरेको हो ।

हाल १५ शैयाको उक्त अस्पताल स्तरोन्नतीका लागि आफूहरुले पटक पटक पहल गर्दै आएको नगर प्रमुख विवश चिन्तनले बताए । ‘यो अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्नुप¥यो भनेर यही बिषयका लागि मात्र हामीले प्रधानमन्त्री, मुख्यमन्त्री, स्वास्थ्यमन्त्रीलाई दर्जनौ पटक भेट्यौँ’, उनले भने, ‘हिजोको बैठकले बल्ल हाम्रो मागको सुनुवाई गरिदियो ।’

५० शैयामा स्तरोन्नति भएपछि उक्त अस्पताल अब स्वतः प्रदेश मातहत रहने उनले जानकारी दिए । ‘२५ शैयासम्म पालिका मातहत रहने भएकाले अहिलेसम्म हाम्रै नगरपालिका मातहत छ, अव स्वतः प्रदेश मातहत रहन्छ,’ उनले भने । आँपपिपल अस्पतालबाट अव बिशेषज्ञ सेवा पनि सुरु हुने उनको भनाइ छ ।

अस्पतालका मेडिकल रेकर्डर वसन्त देवकोटाले पनि अब अस्पतालबाट बिशेषज्ञ सेवा सुरु हुने बताए । ‘अहिले हामीले विशेषज्ञ सेवा दिन सकेका छैनौ, अव शैया वृद्धि भयो, अव सेवा पनि थपिन्छ,’ उनले भने । अस्पतालबाट २४ घण्टा सेवा दिने तयारी समेत भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्