
आरुघाट गाउँपालिकाद्वारा गरीब असहायको निशुल्क स्वास्थ्य बीमा
आरुघाट बजारस्थित आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य बीमा अन्तरगतका सेवाहरु दिन थालेको छ । मंगलवारबाट सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
यसअघि गोरखा अस्पतालमा मात्र स्वास्थ्य बिमा अन्तरगतका सेवा उपलब्ध हुने गथ्र्याे । अहिले आरुचनौटेसहित जौवारी र मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्र र आँपपिपल अस्पतालबाट पनि सेवा दिने बिमा बोर्डले निर्णय गरेको थियो । सोही अनुसार आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा सुरु गरिएको पालिका स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए । ‘यो संस्थाबाट पहिलो पटक बिमा अन्तरगतका सेवा सुरु भएकाले यसलाई स्वास्थ्य बिमा अन्तरगतको सेवा दिने ‘प्रथम केन्द्रबिन्दु’ भनेर तोकेका छौँ,’ उनले भने ।
पालिका कार्यालयले अति विपन्न, असहाय र दीर्घरोगीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । पालिकाभर अति विपन्न, असहाय र दीर्घरोगी गरी १ सय ४२ घरधुरीका ७ सय १२ जनाको निशुल्क स्वास्थ्य बिमा गरिएको बताइएको छ । उनीहरुमध्ये दिर्घरोगीले वार्षिक दुई लाख र अति विपन्न र असहायले एक लाखसम्मको सेवा पाउने स्वास्थ्य शाखा प्रमुख थापाले बताए । निशुल्क स्वास्थ्य बिमा कार्यक्रमका लागि चालु आव पालिकाले पाँच लाख रकम विनियोजन गरेको छ ।




