
गोनपा ११ मा रोजगार तथा पूर्वाधार कार्यक्रमको काम दुई महिनादेखि ठप्प
गोरखा नगरपालिका वडा नम्वर ११ मा पाइलट प्रोजेक्टको रुपमा लागू भएको रोजगार तथा पूर्वाधार कार्यक्रम अन्तरगत सुरु भएका कामहरु विगत दुई महिनादेखि रोकिएका छन् । उपभोक्ता समिति गठनसम्बन्धी विवादका कारण रोकिएको काम पुनः सुचारु हुन सकेको छैन ।
काम रोकिँदा वडाका विकास निर्माणका काम ठप्प जस्तै भएको वडाध्यक्ष रामबहादुर खड्काले गुनासो गरेका छन् । ‘यही परियोजना छ भनेर मेरो वडामा नगर स्तरीय योजनाको बजेट पनि गतबर्षदेखि कटौति हुदैँ आएको छ,’ उनले भने, ‘तर अहिले परियोजना अन्तरगतका कामहरु पनि नगरपालिकाले रोकेर राखेको छ ।’ विकास निर्माणमा आफ्नो वडा सबैभन्दा पछाडि पर्ने भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।
सबैको सहमतिमा आवश्यक प्रक्रिया पु¥याएर काम सुरु भएपनि उपप्रमुखले काम रोक्न लगाएको वडाध्यक्ष खड्काले बताए । ‘मजदुर छनोटदेखि उपभोक्ता समिति गठनसम्मको सबै प्रक्रियामा वडा समिति सदस्यहरु र नगरपालिकाका मेयर–उपमेयर सबैले सहमति जनाउँदै हस्ताक्षर गर्नुभयो । त्यही अनुसार हामीले काम सुरु ग¥याँै, तर काम सुरु भएको चार दिनमै उपप्रमुखले उपभोक्ता समिति गठनमा विवाद आयो भनेर काम रोक्न लगाउनुभयो, पछि मेयर र प्रशासकीय अधिकृतले पनि अहिलेलाई काम रोक्नुस् भनेपछि काम रोकियो,’ उनले भने ।
खड्काका अनुसार उपप्रमुख मसलीमाया थोकरले सेक्टरवाइज भन्दापनि योजनापिच्छे उपभोक्ता समिति गठन हुनुपर्ने बताउँदै आएकी छन् । ‘यो कार्यक्रम अन्तरगत ५० भन्दा बढी योजनाहरु छन्, गोरेटो बाटो, सडक, खानेपानी, टोल विकास भवन र फुटपाथ गरी पाँच वटा सेक्टरमा खर्च गर्ने भनेर नगर सभाबाट योजना बिनियोजन भएको हो, त्यही अनुसार हामीले सेक्टर वाइज पाँच वटा उपभोक्ता समिति निर्माण ग¥यौ, त्यसमा सहमति जनाउँदै नगर प्रमुख, वडा समिति र उपप्रमुख स्वयमले पनि हस्ताक्षर गर्नुभयो, अनि काम सुरु भयो तर पछि सेक्टरवाइज होइन योजना पिच्छे उपभोक्ता समिति हुनुपर्छ, कार्यविधिमा यही लेखिएको छ भनेर उपमेयरले काम रोक्न लगाउनुभयो,’ उनले भने ।
पहिले सहमति जनाउँदै हस्ताक्षर गर्नै तर काम सुरु भएपछि अनेक बखेडा गरेर काम रोक्ने भन्दै वडाध्यक्ष खड्काले आक्रोश व्यक्त गरे । ‘समिति गठनमा समस्या थियो भने त्यही बेला भन्नुपथ्र्याे, पहिले आफैले सहमति जनाउँदै हस्ताक्षर गर्ने पछि काम सुरु भएपछि समिति गठन गरेको भएन भनेर काम रोक्न मिल्छ ?’ उनले प्रश्न गरे । बिचैमा काम रोकिँदा रड, सिमेन्ट लगायतका कतिपय निर्माण सामग्रीहरु बिग्रेर गएको उनले बताए । काम अघि बढाउन पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको उनको गुनासो छ ।
यता उपप्रमुख थोकरले भने कार्यविधि अनुसार काम नभएकाले रोकेको बताइन् । ‘कार्यविधि अनुसार काम गर्छु भनेर हामीलाई हस्ताक्षर गराएको हो, तर त्यो अनुसार भएन अनि रोकेका हौँ,’ उनले भनिन् । कार्यविधि अनुसार काम नगरेमा योजनाको भुक्तानी समेत गर्न नमिल्ने उनले जानकारी दिइन् । ‘कार्यविधिमा योजनापिच्छे उपभोक्ता समिति गठन हुनुपर्ने र समितिमा लाभान्वित स्थानीय हुनुपर्ने भन्ने छ तर वडाले क्लष्टर वाइज पाँच वटा समिति बनाएको छ जुन कार्यविधि विपरीत छ,’ उनले भनिन् । नगर प्रमुख कृष्ण रानाले बैठक बसेर समस्याको हल गर्ने बताए । फागुन ३ गतेका लागी बैठक समेत बोलाइएको उनले जानकारी दिए ।
उक्त वडामा कार्यक्रम संचालनका लागि गोरखा नगरपालिकाले रोजगार तथा पूर्वाधार कार्यविधि २०७९ निर्माण गरेको छ । सोही कार्यविधि अनुसार चालु आर्थिक बर्ष २०७९/८० बाट कार्यक्रम लागू गर्ने भनी २०७९ साल चैत्र ३० गतेको नगर सभाले निर्णय गरेको थियो । निर्णय भएको करिव दुई बर्षपछि काम सुरु भएपनि कार्यविधि विपरित समिति गठन भन्दै काम रोकिएको छ ।




