
गोरखा अस्पतालमा सुबिधा सम्पन्न लिफ्ट बन्ने
गोरखा अस्पतालमा लिफ्ट निर्माण हुने भएको छ । बिरामीहरुको सहजताको लागि लिफ्ट निर्माण गर्न लागिएको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले बताए । लिफ्ट नहुँदा बिरामीहरुलाई एउटा तलाबाट अर्को तलामा ओहोेरदोहोर गर्न अप्ठयारो हुने भएकाले प्रदेश सरकारसँग समन्वय गरेर अस्पतालमा सुबिधा समपन्न लिफ्ट निर्माण गर्न लागिएको उनले बताए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा गोष्ठीमा गत आर्थिक वर्षमा गोरखा अस्पताल सेवा प्रवाहमा गण्डकी प्रदेशमा उत्कृष्ट अस्पताल बनेको थियो । अस्पतालको भौतिक विकासको लागि प्रदेश सरकारले लिफ्ट निर्माणमा ७५ लाख रकम प्रदान गरेको छ ।
यसैगरी, प्रदेश सरकारले अस्पतालको पार्किङ निर्माणको लागि २० लाख र बोरिङ गरेर पानी निकाल्न १७ लाख रकम अस्पताललाई प्रदान गर्ने भएको छ । साथै अस्पतालमा गेट निर्माणका लागि निक साइमन् इन्स्टिच्युटले १२ लाख रकम सहयोग गरेको छ । गेट निर्माणका लागि ठेक्का लागिसकेको र केही दिनमै काम सुरु हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नयाँ गेट ठूलो, अग्लो र फराकिलो हुने छ । गेट निर्माण सम्पन्न भएपछि अस्पतालमा दमकल जस्ता भारी सवारी साधन आउन मिल्ने श्रेष्ठले बताए । गेट निर्माण बाहेकका अन्य कामहरु पनि छिटै प्रक्रिया पूरा गरेर अघि बढाइने उनले जानकारी दिए । ‘आउँदो असार मसान्तभित्र सबै काम पूरा गर्ने लक्ष्य अस्पतालको छ’, उनले भने ।




