
गुप्सीपाखामा खानेपानीको वैकल्पिक व्यवस्था गर
निर्माण भएदेखि नै समस्याग्रस्त धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखाको खानेपानी आयोजनाले बिग्रिएर बर्षेनी स्थानीयबासीलाई हैरान बनाउँछ । हिमालको फेद(३७०० मिटर अग्लोठाउँ)बाट ल्याएको पानी जमेर पाइप चर्चरी फुटाउँछ । पानी सबै बाटोमै चुहिएर बस्तीसम्म आइपुग्दैन ।
भुलमचेतको मुहानबाट पाईपमा ल्याइएको पानी जाडोयाममा सँधै पाइपभित्रै जम्छ र पाईप फुट्छ । बस्ती बन्ने वित्तिकै केयर नेपालको ६ करोड लागतमा यो खानेपानी आयोजना निर्माण भएको थियो । तर यो समस्या आयोजना सम्पन्न भएदेखि यस्तै छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्माण गरेको पाँच सय ७३ र सरकारी अनुदानमा निर्माण भएको गरी ६०१ घरधुरी रहेको गुप्सीमा पानी नहुँदा स्थानीयलाई सास्ती भएको छ ।
एकिकृत बस्तीका केही घरमा बाहेक धेरै घरमा सर्वसाधारण बस्दैनन् । त्यहाँ होमस्टे, होटल, स्वास्थ्य संस्था लगायतका संरचनाहरु सञ्चालित छन् । हरेक बर्षको चार महिना पाइप फुटेर यस्तै समस्या भइरहन्छ । यस्तो समस्या आउन नदिनका लागि राम्ररी प्राविधिक अध्ययन गरेर, यस्ता चुनौतीको पूर्वानुमान गरेर निर्माण गर्नुपथ्र्यो । साथै समस्या आएमा के गर्ने भनेर पनि ख्याल गर्नुपथ्र्यो ।
गोरखाका अन्य हिमाली गाउँबस्तीकालागि यो सिकाई हुन सक्छ । पानी नजम्ने पाईप वा पानी जमेपनि नफुट्ने पाइपको व्यवस्था गर्नुपर्दथ्यो । हिमालीका गाउँबस्तीमा पनि खानेपानी योजनाहरु छन् । त्यहाँ किन पाइप फुट्दैन ? त्यहाँबाट पो यहाँका लागि सिक्नुपथ्र्यो कि ? अब बिगतलाई दोष दिएर भन्दा पनि यसको समाधानतर्फ ध्यानदिनुपर्छ । बैकल्पिक ब्यवस्था गरेर पिउने पानीको जोहो गर्नुपर्छ ।
गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अभियान सञ्चालन गरिरहेको छ । तर यहाँको छसय घरधुरी रहेको बस्तीमा पानीको अभाव हुनु लज्जाको विषय हो । पानी जम्न दिन नसक्ने क्षमता कसैसंग पनि छैन, बरु पानी जमे पनि क्षति नहुने व्यवस्था गर्नु वुद्धिमानी हुनेछ ।




