
सिद्धि गणेश साकोसद्वारा ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा सार्वजनिक
डिजिटल वैंकिङ सेवाको लोकप्रियता बढेसंगै गोरखा नगरपालिका–६हरमटारीेस्थित सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्थाले नयाँ प्रविधिमा आधारित ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा सार्वजनिक गरेको छ । डिजिटल बैंकिङलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ संस्थाले १३ औं स्थापना दिवशको अवसर पारेर सो सेवा सुचारु गरेको संस्थाका व्यवस्थापक गणेश श्रेष्ठले जानकारी दिए ।
संस्थाको क्युआर भुक्तानी प्रणालीमा आबद्ध ग्राहकलाई सहजता प्रदान गर्न माघ २६ गतेदेखि सो सेवा लागु भइसकेको जनाएको छ । गोरखामा नै पहिलो पटक कोइली डिभाइसको सेवा सुरु भएको श्रेष्ठले दाबी गरेका छन् । ‘यो डिभाइस सार्वजनिक भएको गोरखामा नै पहिलो चोटी हो,’ उनले भने, ‘मलाई लाग्छ अन्य बैंकहरुले पनि यो सेवा सुरु गरेका छैनन् ।नेपालमा भित्रित्रएको करिब ६ महिनामै हामीले यो सेवा सुरु गर्न सफल भयौँ ।’
सेवाअन्तर्गत क्युआर अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोडमार्फत कारोबार गरेपछि ग्राहकले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस म्यासेज मार्फत प्राप्त गर्नेछन् । साथै संस्थाले यसअघि सेवा दिदैं आएको सिद्विगणेश मोबाइल पास बुक एपसमेत परिमार्जित गरेर सिद्विगणेश आई स्मार्ट एप बनाएको उनले जानकारी दिए । उनका अनुसार परिमार्जित एपबाट बिदा तथा शनिबारको दिन पनि बिजुली पानीको भुक्तानी साथै बैंकिङ्ग कारोबार गर्न सकिने बताए ।
संस्थाका सदस्यहरुले सहकारीमा रहेको आफ्नो खाताको रकम बैंक तथा अन्य बित्तिय संस्था तथा अन्य वित्तिय संस्थामा भएको रकम आफ्नो खातामा राख्न मिल्ने भएको । अब भने विदाको दिन भुक्तानी तथा बैंकिङ्ग कारोबार नभएर अर्को दिन कुर्नु पर्ने बाध्यता हट्ने ब्यवस्थापक श्रेष्ठले विश्वास लिएका छन् ।
संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्थापना दिवशको अवसरमा आहालेस्थित सस्वती माविमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीको छात्रबासका लागि ६ थान कम्बल र ११ थान टोपी वितरण गरेको उनले बताए । सन् २०११ देखी सेवा सुरु गरेको सहकारी संस्थामा करिब १४ सय सदस्य रहेका छन् ।
संस्थाको वासलात २५ करोड रहेको छ । सहकारी संस्थाबाट दुई सयभन्दा बढी सदस्यहरुले सेवा लिई रहेको जनाएको छ । कार्यक्रम सिद्विगणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शरदबावु कट्टेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।




