
अजिरकोटमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु
गर्भवती महिलाको प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी सुनिश्चित गर्ने उद्देश्यले अजिरकोट गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । हालै सम्पन्न हिउँदे गाउँसभाबाट निर्णय गरेर पालिकाले वडातहको स्वास्थ्यचौकीमा घुम्ती अल्ट्रासाउण्ड सेवा सुरु गरेको हो ।
पहिलो चरणको ग्रामीण अल्ट्रासाउण्डको घुम्ती सेवा हालसालै सम्पन्न गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए । ‘पहिलो चरणमा पालिकाभित्रका सबै स्वास्थ्यचौकीमा रहेका सुरक्षित सुत्केरी केन्द्र(बर्थिङ सेण्टर) मा अल्ट्रासाउण्ड सेवा सम्पन्न भएको छ’, दवाडीले भने, ‘घ्याच्चोक स्वास्थ्यचौकी, खरिबोट स्वास्थ्यचौकी, भच्चेक स्वास्थ्यचौकी, सिम्जुङ स्वास्थ्यचौकी, मुच्चोक स्वास्थ्यचौकी र बालुवाको बर्थिङसेण्टरमा सञ्चालन गरिएको अल्ट्रासाउण्ड सेवामा ५० जना गर्भवती महिलाले सेवा लिएका छन् ।’
यस कार्यक्रमलाई हरेक महिना निरन्तरता दिने उनले बताए । यसका लागि पालिकाले तालिमप्राप्त जनशक्तिका रुपमा पवित्रा जिरेललाई परिचालन गरेको छ । ग्रामीण अल्ट्रासाउण्ड सेवामा गर्भवती भएको १२ हप्तादेखि नौ महिनाका गर्भवती महिलाहरुले सेवा लिनेछन् । ‘१२ हप्तादेखि नौ महिनासम्मका गर्भवती महिलाको गर्भको अल्ट्रासाउण्ड गरिनेछ ।
त्यसमा १२ हप्ताभित्रका बच्चा अपांग वा अन्य खालका असामान्य अबस्थामा रहेछन् र बच्चा जन्माउँदा आमाको ज्यान जोखिममा हुने देखियो भने बच्चाका आमा, बुबा दुवैको सहमतिमा सुरक्षित गर्भपतन गर्न, गराउन पाउने व्यवस्था पनि पालिकाले गरेको छ’, स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले भने, ‘नौ महिनाको गर्भको अल्ट्रासाउण्डबाट बच्चा कुन अबस्थामा छ, प्राकृतिक तबरले सुत्केरी हुन सम्भव छ वा छैन भन्ने राम्ररी हेरेर बेलैमा सुरक्षित ठाउँमा लैजान सिफारिस गरिने छ ।’ मातृशिशु सुरक्षाको सुनिश्चितताका लागि पालिकाले गाउँघरमै अल्ट्रासाउण्ड सेवा सञ्चालन गरेको उनको भनाइ छ ।




