
बुंकोटको गैरीचौतारादेखि हटियासम्मको सडक कालोपत्रे हुदैं
शहिदलखन गाउँपालिका ८ सिउँडेपानी डाँडादेखि हटियासम्मको सडक खण्ड कालोपत्रे गर्ने काम सुरु भएको छ । उक्त सडक खण्डको करिब ६०० मिटर सडक कालोपत्रे गर्ने काम बिहिबारदेखि सुरु भएको हो ।
डाईमण्ड इन्फ्रा ईन्जिनियरिङ प्रालिले एक करोड २५ लाखमा सो सडक निर्माणका ठेक्का सम्झौता गरेको पूर्व वडाअध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए । संघीय मन्त्रालयबाट प्रदेश मन्त्रालयलाई अनिबार्य दायित्व सिर्जना गरेको सो कार्यक्रमको गत पुस ५ गते ठेक्का सम्झौँता भएको थियो । आउँदो असार मसान्तभित्र काम सकिने गरी निर्माण कार्य अगाडि बढेको ठेकेदार सन्तोष भट्टले जानकारी दिए । संघ र प्रदेशको समपुरक बजेटबाट सडक स्तरोन्नति हुन लागेको ठेकेदार भट्टले बताए ।
त्यस्तै गैरीचौतारादेखि सिउँडेपानीसम्मको २५० मिटर सडक ढलानका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । प्रदेस सरकार र गाउँपालिकाको समपुरक बजेट एक करोड लागतमा सो सडक ढलानको ठेक्का प्रक्रिया सुरु भएको पनि पूर्व वडाअध्यक्ष अम्गाईले जानकारी दिए ।
सडक स्तरोन्नति भएपछि गोरखा सदरमुकामदेखि हटिया, राम्चे क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् भने कुवापानी, मैलुङका बासिन्दालाई पनि सहज हुनेछ । त्यस्तै नाम्जुङको माझीटार, बोर्लाङको क्यामुण्टार तथा धादिङको विभिन्न क्षेत्रसम्म पुग्न सहज हुने विश्वास गरिएको छ ।
‘यो सडक त गण्डकी प्रदेश र बाग्मती प्रदेश जोड्ने सडक हो’, उनले भने, ‘सडक निर्माण भएपछि गोरखा सदरमुकामबाट धादिङको ज्वालामुखी गाउँपालिका पुग्न सहज हुन्छ ।’ सो सडक गोरखा सदरमुकामदेखि बूढीगण्डकी जलविद्युत आयोजना स्थल जाने छोटो बाटो भएको उनले बताए । सडक निर्माणको काम सम्पन्न भएपछि स्थानीयहरुलाई धेरै राहत हुने भट्टको भनाई छ ।
गैरीचौतारामा सडक निर्माण भइरहँदा स्थानीय तथा सवारी साधानहरु आवतजावतका लागि २ छुटै वैकल्पिक बाटो प्रयोग गर्न सकिने निर्माण कम्पनीले जनाएको छ । सडक निर्माणको काम सके लगत्तै अन्य सडकहरुको काम पनि सुरु गरिने बताईएको छ ।




