| मङ्लबार, कार्तिक २४, २०८३

सौरपानीको निशुल्क आँखा शिविरमा ६ सय बढीले सेवा लिए

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाउँपालिका र सौरपानी समाजको संयुक्त आयोजनामा भएको शिविरमा ६ सय बढीले सेवा लिएका छन् ।

३ सय ४३ जना पुरुष र २ सय ६१ जना महिला गरी कुल ६ सय ४ जनाले आँखा जाँच गराएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले बताए । ‘आँखा जाँच गराएकामध्ये १९ जना पुरुष र २५ जना महिला गरी कुल ४४ जनामा मोतियाविन्दुको समस्या देखियो,’ उनले भने, ‘उनीहरुको त्यही निशुल्क शल्यक्रिया समेत भयो ।’

शिविरमा २ सय ५८ जनालाई चश्मा र ४ सय ५० जनालाई औषधी निशुल्क वितरण समेत भएको उनले जानकारी दिए । वडा नम्वर ४ को सौरपानी स्वास्थ्यचौकीमा मंगलवार र बुधबार गरी दुई दिन शिविर संचालन भएको हो । शल्यक्रिया गरेकाहरुलाई पालिकाले खान वस्न र यातायातको व्यवस्था समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्