| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकाको लिजामा अंक नघटोस्

गोरखा नगरपालिका जिल्ला सदरमुकाममा अवस्थित नगरपालिका हो । बाहिरबाट हेर्दा सबैभन्दा अगाडि देखिने गोरखा नगरपालिका नै हो । जिल्लाको मुहार बनेर रहेको नगरपालिकाले उत्कृष्ठ कार्यसम्पादन, राम्रो प्रस्तुतीकरण गर्न सक्यो भने बाहिरबाट हेर्दा जिल्ला नै राम्रो देखिन्छ । अरु पालिकाले जति राम्रो प्रस्तुतीकरण गरे पनि यदि सदरमुकाम रहेकै पालिकाको प्रस्तुती दरिद्र भयो भने जिल्लाको शोभा कम हुन्छ ।

त्यसैले गोरखा नगरपालिकाको महत्व अरु पालिकाको भन्दा ज्यादा छ । जिल्लाका ११ वटा स्थानीय तहमध्य वारियता क्रममा पनि गोरखा नगरपालिका अग्रस्थानमा छ । त्यसैले प्रस्तुती पनि नंबर १ हुनुपर्छ । जिल्लाका संघ मन्त्रालय अन्तर्गतका, प्रदेश मन्त्रालय अन्तर्गतका कार्यालयहरु, कर्मचारीहरु, प्रहरी, सेना, विभिन्न सामाजिक संघसंस्थाहरु, तिनमा कार्यरत कर्मचारीहरु रहेको पालिका त गोरखा नगरपालिका नै हो । गोरखा भ्रमण गर्न आउनेहरुले ‘गोरखाप्रतिको छाप’ बनाउने त गोरखा नगरपालिका देखेर नै हो, त्यसैले गोरखा नगरपालिका अरु पालिकाहरु भन्दा धेरै संवेदनशील हुनुपर्छ ।
तर गोरखा नगरपालिका स्थापनाकालदेखि विवादमुक्त हुन सकेको छैन । प्रजातन्त्र, लोकतन्त्रको सुन्दर पक्षहरु धेरै छन् । स्वतन्त्रता छ, मौलिकहरु धेरै छन्, सूचनाका हक छन्, विभिन्न छन्, तर यसका दुर्वल पक्ष पनि कम छैनन् । स्वतन्त्रता धेरै भएका कारण पनि प्रजातान्त्रिक, लोकतान्त्रिक शासन व्यवस्थामा अविछिन्न विवाद भइरहन्छ ।

गोरखा नगरपालिका यसकै एउटा ज्वलन्त उदाहरण हो । यहाँ सँधै विवाद भइरहन्छ । मेयर एउटा पार्टीबाट, उपमेयरसहित कार्यपालिकाका बहुमत सदस्य अर्को पार्टीबाट भएकाले सँधै टकराब भइरहन्छ, जसले गर्दा न कार्यपालिकाको बैठक हुन सक्छ, न नगरसभा हुन सक्छ । यस्तै कारणले गतबर्ष पनि चैत महिनामा नगरसभा भएको थियो । यसबर्ष पनि पुस महिनाभित्र गरिसक्नु पर्ने नगरसभा माघको तीनहप्ता वितिसक्दा पनि हुन सकेको छैन । समयमा नगरसभा नहुँदा लिजामा अंक घट्नेछ । साँढेको जुधाइ, बाच्छाको मिचाइ भनेझै नगरपालिकामा दुई राजनीतिक शक्तिको टकराबको दुश्प्रभावका कारण सर्वसाधारण नगरबासीमा पर्नु दुखद छ ।

प्रतिक्रिया दिनुहोस्