| आइतवार, कार्तिक २२, २०८३

पालुङ्टार सिंचाइ योजनाका लागि डेढकरोड विनियोजन, फागुनबाट काम सुरु हुने


लामो समयदेखि चर्चा पाए पनि सुरु हुन नसकेको पालुङटार सिंचाइ योजनाको काम यसबर्षदेखि अघि बढ्ने भएको छ । पालुङटार नगरपालिकाको वडा नम्वर ४ देखि ९ सम्मको करिव दुई हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पु¥याउने गरी उक्त योजना निर्माण गर्न लागिएको बताइएको छ । अर्काे महिनाबाट काम सुरु हुने पालुङटार कुन्दुरटार सिंचाइ आयोजनाले जनाएको छ ।

‘गुरुयोजना बनेर विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत तयार भइसक्यो,’ आयोजना प्रमुख शंकर बुढाथोकीले भने, ‘अर्काे महिनाबाट काम सुरु हुन्छ ।’ उक्त योजनाका लागि यो बर्ष डेढ करोड रकम विनियोजन भएको उनले जानकारी दिए ।
योजना अन्तरगत स्थानीय खोल्साखोल्सीमा पोखरी निर्माण गरी पानी लिफ्ट गर्ने, मस्र्याङ्दी नदीबाट पानी लिफ्ट गर्ने र पानीको स्रोत भएका नहरहरुको मर्मत गरिने आयोजना प्रमुख बुढाथोकीले बताए । ‘कुल ४५ वटा साना योजनाहरु प्रस्ताव गरेका छौं, ती योजना अन्तरगत यी कामहरु पर्छन्’, उनले भने ।

दरौदी नदीमा १७ सय मिटर तटबन्धन निर्माण

योजना सम्पन्न गर्न करिव डेढअर्ब लाग्ने उनको भनाइ छ । डेढ बर्षको अन्तरालमा दरौदी नदीमा १७ सय ५० मिटर तटबन्धन निर्माण गरिएको छ । गतबर्ष १६ सय र यो बर्ष १ सय ५० मिटर तटबन्धन निर्माण गरिएको आयोजनाले जनाएको छ । तटबन्धन निर्माणका लागि गतबर्ष दुईकरोड बढी रकम विनियोजन भएको थियो । यो बर्ष ७५ लाख मात्र विनियोजन भएको आयोजना प्रमुख बुढाथोकीले बताए । ‘यो बर्षको बजेटले अधिकांश ठाउँमा काम भइसक्यो, अव करिव १५–२० मिटर मात्र तटबन्धन लगाउन पुग्छ होला,’ उनले भने ।

उनका अनुसार यो बर्ष गोरखा नगरपालिका वडा नम्वर ११ को कन्याटार झोलुङ्गेफाँटमा ११० मिटर र सिरानचोक गाउँपालिका वडा नम्वर ४ को भुसुण्डेमा ४० मिटर तटबन्धन निर्माण गरिएको छ । स्थानीयको निवेदनको आधारमा नदीले कटान गरेको जोखिम क्षेत्रको स्थलगत निरिक्षण गरी आवश्यकताको आधारमा तटबन्धन निर्माण गरिएको कार्यालयले जनाएको छ ।

‘स्थानीयले तटबन्धनको माग गर्दै कार्यालयमा निवेदन दिनुहुन्छ, त्यसमा स्थानीय तहको सिफारिस अनिबार्य हुन्छ, त्यसपछि हामीले स्थलगत निरीक्षण गरेर आवश्यकता पहिचान गरेर काम गर्छाै,’ आयोजना प्रमुख बुढाथोकीले भने । दरौदी नदीले कटान गरेको जोखिम क्षेत्रमा तटबन्धन निर्माणका लागि गुरुयोजना सहित डिपिआर तयार गरेर मन्त्रालयमा पठाइएको उनले जानकारी दिए । बजेट सहित स्वीकृत भएर आएपछि काम अघि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्