
नगरसभा माग गर्दै गोरखा नगरपालिकाका नगरसभा सदस्यहरुद्वारा ध्यानाकर्षण पत्र पेश
गोरखा नगरपालिकाका नगरसभाका बहुमत सदस्यले नगरसभाको माग गर्दै मेयर कृष्ण राना र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीसमक्ष ध्यानाकर्षण पत्र पेश गरेका छन् । नगरसभाका कूल ७५ जनामध्य उपप्रमुख मसलीमाया थोकरसहित ४३ जना सदस्यले उनीहरुसमक्ष सोमबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नगर सभाबाट निर्णय गरी सम्पादन गर्नुपर्ने धेरै कामहरु सभा नभएका कारण प्रभावित भएको सो ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
कार्यपालिका बैठकमा पेश गरिएका खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड गठन लगायतका प्रस्तावहरु निर्णय हुन नसकेको बताइएको छ । ‘भू–उपयोग क्षेत्र वर्गीकरण नभएकोले नगरपालिकाभरि जग्गा खरिद बिक्री अवरुद्ध भई जनताको आयस्रोतमा असर परेको छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नदीजन्य सामग्री रहेका क्षेत्रहरुको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन(आईईई) हालसम्म स्वीकृत हुन नसक्दा उपयोग र बिक्री वितरणमा पनि प्रभाव परेको छ ।’ नगर सभा नभएकै कारण एकबर्षअघि पृथ्वी जयन्तीका दिन भएको खर्च अझै भुक्तानी हुन नसकेको र कृषि र पशुका कार्यक्रमहरु समेत कार्यान्वयनमा ल्याउन नपाइएको बताइएको छ ।
तत्काल अधिवेशन गरी प्रभावित बनेका कार्यहरु संचालन गर्न उनीहरुले माग गरेका छन् । समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने प्रशासकीय अधिकृतको भूमिका एकाङ्की प्रवृत्तिको भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

नगरप्रमुख राना मगरले भने छिट्टै नगरसभा गर्ने बताएका छन् । ‘नगरसभा नगर्ने होइन, गर्ने हो । कार्यपालिकाको बैठक हुन नसकेर नगरसभा नभएको हो’, उनी भन्छन्, ‘अब कार्यपालिकाको बैठक पनि हुन्छ र त्यसपछि नगरसभा पनि अब हुन्छ ।’ पुसमसान्तभित्र नगरसभा गरिसक्नुपर्ने बाध्यकारी नियम भने नभएको उनको भनाइ छ । ‘गतबर्षको नगरसभा पनि हामीले चैतमा गरेका हौँ’, उनी भन्छन्, ‘कैयौँ पालिकाहरुले सभा नै गर्दैनन्, हामीले नगर्ने त भनेका छैनौँ, गर्ने नै हो, तर प्राविधिक कारणले ढिला भएको मात्रै हो । अब हुन्छ ।’




