
उपेक्षा गरिएका रोगहरुको संक्रमण जिल्लामा बढ्न थाल्यो
गर्मी भू–भागमा हुने उष्णप्रदेशीय उपेक्षित रोगहरुको संक्रमण जिल्लामा पनि देखिन थालेको छ । डेंगु, कालाजार, सर्पदंश, कुष्ठरोग, रेबिज लगायतका रोगबाट संक्रमित हुनेको संख्या बढ्न थालेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । मंगलवार जिल्लामा क्रियाशील पत्रकारहरुसँग अन्तरक्रिया गर्दै कार्यालयले सो कुरा जानकारी गराएको हो ।
‘गत बर्ष ५ सय ३१ जनामा डेंगु रोगको संक्रमण देखियो,’ कार्यक्रममा सहजिकरण गर्दै कार्यालयका सूचना अधिकारी नवराज खड्काले भने, ‘यो बर्षको पुस महिनासम्म डेंगु लाग्ने बिरामीको संख्या ४ सय ८ पुगिसकेको छ ।’ सबैभन्दा बढी आरुघाट गाउँपालिकामा १ सय ८८ र गोरखा नगरपालिकामा १ सय ४४ जनामा डेंगु देखिएको उनले जानकारी दिए ।
त्यस्तै यो बर्षको पुस मसान्तसम्म ५६ जनालाई सर्पले टोकिसकेको छ । जसमध्ये चार जनालाई बिषालु सर्पले टोकेको थियो । सबैभन्दा बढी आरुघाट गाउँपालिकामा २७ जनालाई सर्पले टोकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक बर्ष सर्पदंशका ७० जना बिरामी थिए ।
जिल्लामा हाल १३ जना कुष्ठरोगका बिरामीहरु उपचाररत रहेको कार्यालयका सूचना अधिकारी खड्काले बताए । त्यस्तै नाम्जुङका एक व्यक्तिमा कालाजार समेत देखिएको उनले जानकारी दिए ।
बिशेषगरी गर्मी क्षेत्रमा भेटिने यी रोगहरुलाई बेवास्ता गरिने भएकाले उपेक्षित उष्णप्रदेशीय रोग भन्ने गरिएको उनको भनाइ छ । उनका अनुसार बिश्व स्वास्थ्य संगठनले २१ वटा रोग (डेंगु र चिकानगुनिया, रेबिज, खस्रेरोग, कुष्ठरोग, कालाजार, फित्तेजुका, हात्तीपाइले, माटोबाट सर्ने जुका, माइसेटोमाक्रोमोब्लास्टो माइकोसीस, सर्पदंश र लुतोलाई उपेक्षित उष्णप्रदेशीय रोगको सूचिमा राखेको छ ।
बिश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा मंगलवार कार्यक्रम गरिएको हो । स्वास्थ्य कार्यालयको आयोजनामा भएको कार्यक्रममा कार्यालयका नवराज खड्का, नारायण अर्याल, गोरखा अस्पतालका निमित्त सुपरिटेन्डेण्ट सिदार्थ खनाल लगायतले सहजिकरण गरेका थिए ।




