
११ वटै जिल्लाका मेसु र नर्सिङ इञ्चार्ज गोरखा अस्पतालमा
गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट र नर्सिङ इञ्चार्जहरु गोरखा अस्पतालमा भेला भएका छन् । गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयको आयोजनामा गोरखा अस्पतालमा आयोजित क्लिनिकल अडिटबारे अभिमुखीकरणका लागि उनीहरु गोरखा अस्पतालमा भेला भएका हुन् ।
बिहिबार र शुक्रबार दुईदिनसम्म सञ्चालन हुने सो अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकहरु स्वास्थ्य निर्देशनालयबाट आएका कार्यक्रम संयोजक नवराज शर्मा, निर्देशनालयकै उर्मिला बराल र स्याङ्जा जिल्ला अस्पतालकी प्रशिक्षक रुक्मिना अधिकारीले विभिन्न सूचकहरुका बारेमा प्रशिक्षण दिइरहेका छन् । उनीहरुले गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि अपनाउनु पर्ने विधि, तरिका तथा उपायहरुका बारेमा प्रशिक्षण दिनेछन् । साथै अस्पतालमा गरिने क्लिनिकल अडिटका सूचक पालना गरे, नगरेको निरीक्षण तथा अवलोकन गर्ने विधि सिकाइने कार्यक्रम संयोजक नवराज शर्माले जानकारी दिए ।
‘अस्पतालहरुले गुणस्तरीय स्वास्थ्य सेवा दिए, नदिएको जाँच गर्ने, मिनिमल सर्भिस स्कोरिङ(एमएसएस)का विधिका बारेमा अभिमुखीकरणमा सिकाइएको छ’, शर्माले भने, ‘सिकाइएका कुरा कसरी व्यवहारमा उतार्ने भनेर बिहिबार गोरखा अस्पतालमा क्लिनिकल अडिट गरिएको छ ।’ प्रदेशभरिका सबै जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट र नर्सिङ स्टाफहरुलाई एकैठाउँमा राखेर क्लिनिकल अडिटबारे अभिमुखीकरण गराइएको नेपालमै पहिलो अभ्यास भएको शर्माले बताए ।
‘गण्डकी प्रदेशमा त यस्तो खालको कार्यक्रम पहिलो हुँदै हो, यस्तो अभ्यास नेपालकै पहिलो पनि हो’, उनले भने, ‘अब निर्देशनालयले यस्तो कार्यक्रम नियमित रुपमा गर्ने योजना छ ।’ क्लिनिकल अडिटको निर्देशिका बनिसकेको भए पनि क्लिनिकल अडिट भने नभइरहेको अबस्थामा यस्ता तालिम, प्रशिक्षण धेरै उपयोगी हुने उनले बताए ।
अस्पतालले मन्त्रालय तथा निर्देशनालयले लागु गरेका मापदण्ड तथा कार्यविधिहरु लागु गरे नगरेको भित्रभित्रै पुगेर निरीक्षण गर्न प्रेरित गर्ने, तोकिए अनुसार हात धोए, नधोएको, गाउन्, मास्क, ग्लब्स लगाए, नलगाएकोजस्ता न्यूनत्तम सेवा मापदण्ड पूरा गरे, नगरेको अवलोकन गर्न सिकाइने गरिएको छ । गुणस्तरीय सेवा सुनिश्चित गर्ने उद्देश्य राखेर प्रदेशको स्वास्थ्य निर्देशनालयले सो कार्यक्रमको आयोजना गरेको शर्माले जानकारी दिए ।




