| आइतवार, कार्तिक २२, २०८३

गोरखा प्रशासनद्वारा ६ महिनामा झण्डै दुईकरोड राजस्व संकलन, करिब एकलाख बेरुजु

जिल्ला प्रशासन कार्यालय गोरखाले छ महिनाको अवधिमा करिब दुई करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिकवर्ष ०८०/०८१ को साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा एक करोड ९२ लाख ५३ हजार ४७७ रुपैयाँ राजस्व संकलन भएको जनाएको छ ।

राहदानी शुल्कबापत एककरोड ८९ लाख १६ हजार पाँचसय रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क ७३ हजार ७७७ रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना शुल्क पाँचहजार, हातहतियारको इजाजतपत्र दस्तुर ९० हजार, परीक्षा दस्तुर पाँच हजार र अन्य प्रशासनिक सेवा शुल्क एकलाख ६३ हजार २० रुपैयाँ गरी उक्त राजस्व संकलन गरेको हो ।

यस अवधिमा कार्यालयको बेरुजु पनि देखिएको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा ८१ हजार ६६२ रुपैयाँ बेरुजु रकम देखिएको छ । तथ्याङ्गमा बेरुजुको स्रोत भने खुलाएकोल छैन । जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र ३ हजार ६२१, प्रतिलिपि नागरिकता ३ हजार ७७८, नाबालक परिचयपत्र २८१ वितरण गरिएको छ । कार्यालयले विपद् पीडितका लागि ८ लाख सहयोग गरेको छ । कार्यालयमा ४० मुद्दा दर्ता भएकोमा सबै मुद्दा फछ्र्यौट भएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी कार्यालयले ८४३ जनाको अन्य सिफारिस, ८७४ जनाको आदिवासी जनजाति, दलित, मुस्लिम प्रमाणित र ५१० जनाको पेन्सन सम्बन्धि कागजात प्रमाणितको सिफारिस गरी राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ । ९१ वटा संस्था नवीकरण, २७ वटा हातहतियार नवीकरण, एउटा हातहतियार नामसारी, र ६ वटा नयाँ संस्था दर्ता गरिएको कार्यालयको अभिलेखमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्