
राष्ट्रिय उत्पादन प्रबद्र्धन गर्दै ‘युटर्न’
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘युटर्न’ इन्टरनेशनल प्रालि नामक संस्था गोरखा आइपुगेको छ । विभिन्न आयुर्वेदिक औषधी र मौरीजन्य खाद्य आहारहरुको बिक्री वितरण गर्ने सो कम्पनीले सोमबार सदरमुकाममा प्रोडक्ट लन्च गरेको छ । सो कार्यक्रममा कम्पनीले सहभागी हुनेहरुलाई जडिबुटीजन्य वस्तुहरु प्रयोग गर्न प्रोत्साहन गरेको थियो ।
स्थानीय उत्पादन प्रयोग गर्न र विदेशी उत्पादनको उपभोग न्यूनिकरण गर्न उनीहरुले अनुरोध गरेका छन् । स्थानीय उत्पादनको उपभोग वृद्धि गरी चिन्तामुक्त, निरोगी समाज निर्माण गर्ने मुल उद्देश्य रहेको सो कम्पनीले चार वर्षदेखि निरन्तर सेवा दिइरहेको उक्त कम्पनीका हरिचन्द्र पौडेलले जानकारी दिए । देशका युवाहरुले स्वदेशमै रोजगारीको सिर्जना गरेर आफ्नै स्थानीय स्तरका उत्पादनहरुलाई विश्वव्यापीकरण गर्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।
‘तिमी फर्क’ अर्थात ‘युटर्न’ नामको सो कम्पनीले राष्ट्रलाई समृद्ध बनाउनका निम्ति सिङ्गो नेपालनै लागिपर्नुपर्नेमा जोड दिएको छ । सबैजना विदेश पलायन हुने गरेको अहिलेको कहलिलाग्दो अवस्थालाई रोक्न र नेपाली वस्तुहरुलाई विश्व सामु चिनाउन आफुहरु निरन्तर लागिपरेको उनले बताए । संस्थाले हजारौँ व्यक्तिहरुलाई स्वरोजगार बनाउँदै र रोजगारी दिँदै आएको उनले बताए ।
नेपाल सरकार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट वस्तुहरु प्रत्यक्ष बिक्री गर्न लाइसेन्स पाएको सो कम्पनीले देशैभर आफ्नो उत्पादनको प्रचारप्रसार गर्दै आएको छ । संस्थाले उसको उत्पादनको प्रयोगबाट कुनै नकारात्मक प्रभाव वा कुनै प्रकारको रोग नलाग्ने दाबी गरेको छ ।
कम्पनीले हाल ५० प्रकारका वस्तुहरु बिक्री गर्दै आएको छ । आगामी ४ वर्षभित्र चार बढी औषधीजन्य वस्तु उत्पादन गर्ने लक्ष्य सहित कम्पनी अघि बढेको बताएको छ । अन्तरक्रियामा गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गोरखा नगरपालिकाकी उप प्रमुख मसली माया थोकर, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।




