| आइतवार, कार्तिक २२, २०८३

छेकम्पारका आगलागी पिडितका लागि आर्थिक सहयोग संकलन

आगलागीले होटल पूर्ण क्षति भएर पीडित बनेका चुमनुब्री ७ छेकम्पारका व्यवसायी छिरिङ नोर्केलाई राहत प्रदान गर्न छेकम्पारका बासिन्दाले आर्थिक संकलन गरेका छन् । छेकम्पारमा भर्खरै सञ्चालन गरेको होटलमा गत हप्ता आगलागी भएर पूर्ण क्षति ब्यहोरेका उनलाई थोरै भए पनि राहत दिने उद्देश्यले त्यस भेगका सामाजिक अगुवाहरुले आर्थिक संकलन अभियान सञ्चालन गरेका हुन् ।

आगलागीबाट एककरोड भन्दा बढिको क्षति व्यहोरेका सञ्चालक लामालाई थोरै भए पनि राहत होओस् भन्ने उद्देश्यले स्थानीय युवाहरुले राहत संकलन अभियान सञ्चालन गरेका हुन् । आगलागीबाट होटल पूर्णरुपमा क्षति भएको थियो । आगजानीबाट पिडित बनेका लामालाई केही राहत मिलोस् भनेर स्थानीयले मिलेर आर्थिक सहयोग संकलन गर्न अभियान सुरु गरेको स्थानीय धावा ग्याल्जेन लामाले बताए ।

‘आगलागीबाट पिडित लामा परिवारलाई सहयोग गरौं’, भन्ने अभियान बिहिबारदेखि सुरु गरिएको उनले बताए । स्थानीय लोटे लामाको नेतृत्वमा तेन्जिङ ग्याल्चेन लामा, दावा ग्याचेन लामा र वाङचुक राप्तेन लामा मिलेर अभियान सुरु गरेका हुन् । अभियान सुरु गरेको एक दिनमा नै १६ सय डलर अर्थात नेपाली एक लाख ८० हजार रुपौंया सहयोग संकलन भएको उनले बताए ।

१५ हजार पाँचसय डलर सहयोग संलकन गर्ने उनीहरुको लक्ष्य रहेको छ । विदेशमा रहेका आफन्तजन, स्थानीय र ट्रेकर्सहरुबाट सहयोग संकलन गरिएको लामाले बताए । उक्त होटल चिसो बढेसंगै विगत एक महिनादेखि बन्द रहेको थियो ।
पर्यटकको सिजन सकिएपछि होटल सञ्चालक सपरिवार एक महिनादेखि काठमाडौंमा बस्दै आएका थिए । आगलागी विद्युत सर्ट नभई कुनै व्यक्तिगत रिसिबी वा योजनाबद्धरुपले गरिएको भन्ने स्थानीयको आशंका रहेको उनले बताए ।

‘होटल बन्द गरेर उनीहरुको परिवार एक महिनादेखि काठमाडौं बस्थ्यो, विद्युत सर्ट भएर आगलागी भएको हो भनी गाँउको अरु ठाँउमा पनि बत्ति जानु प¥थ्यो’ उनले भने, ‘हामीले यहाँको अपरेटरसँग बुझदाँ आगलागी भएको बेला अरु ठाँउमा बत्ती आइरहेको थियो । त्यहीँ भएर व्यक्तिगत रिसिबी वा योजना बद्धरुपले गरेकोे होकि भन्ने आशंका छ ।’ आगालागीबाट मानवीय क्षति नभए पनि ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेकाले पिडित परिवार शोकमा डुबेको उनले बताए ।

होटल सञ्चालन गर्दै आएको उक्त भवनमा करिब १२ वटा कोठा रहेको थिए । आगजानीबाट होटल भित्र रहेका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको बताएको छ । ‘दुई लाख नगद नै थियो, ५ लाख बराबरको खाद्यन्न, सोलारलगायत अन्य सामग्रीहरु गर्दा एक करोड ३० लाख जति क्षती भएको छ’ सञ्चालक लामाले भने । प्रहरी चौकी छेकम्पारबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा करिब ३ घण्ट पछि आगो नियन्त्रणमा लिएको थियो ।

यता गोरखाका प्रहरी नायब निरिक्षक तथा सूचना अधिकारी रमेश कुमार श्रेष्ठले पनि आगलागी के कारण भएको भन्ने अहिलेसम्म नखुलेको बताउनुभयो । ‘विद्युत सर्ट भएर भएको होकी भन्ने अनुमान गरिएको हो’ उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं, के कारण भएको भन्ने अहिलेसम्म खुलेको चाहिँ छैन ।’ गत पुस २८ गते राती करिब एक बजे तिर होटलमा आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्