| सोमवार, कार्तिक २३, २०८३

गोरखाकी सम्झना देवकोटा राष्ट्रिय सभा निर्वाचनकी उम्मेद्वार


गोरखाकी सम्झना देवकोटा आउँदो राष्ट्रिय सभाको निर्वाचनमा गण्डकी प्रदेशको महिलाका तर्फबाट उम्मेद्वार हुने भएकी छिन् । १९ सिटका लागि उम्मेद्वारको नाम टुंगो लगाउने क्रममा एमालेले गण्डकी प्रदेशबाट देवकोटाको नाम निश्चित गरेको हो ।


आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ ।


एमाले महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरेर उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका हुन् । एमालेले गण्डकीमा महिलातर्फ गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार तय गरेको छ । एमालेले अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यक तथा अपांगता तर्फबाट मुस्ताङका हेमचन्द्र शेरचन उम्मेदवार बनाएको छ ।


महासचिव पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला(सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी(पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत(महोत्तरी) उम्मेदवार बनेका छन् ।
त्यसैगरी बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं(दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल(चितवन), अपाङ्गता र अल्पसंख्यकबाट विवेक देवकोटा(काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा(धादिङ) रहेका छन् ।


लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी(दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही(हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट(मुगु), दलितबाट हिक्मत विक(दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे(कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल(कञ्चनपुर) र अपाङ्गता र अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) उम्मेदवार चयन भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्