| सोमवार, कार्तिक २३, २०८३

पुस २१ बाट नेपाली सेनाको एकीकरण पदयात्रा सुरु हुने

बिगतका बर्षजस्तै यस बर्ष पनि नेपाली सेनाले एकीकरण पदयात्रा गर्ने भएको छ । पुस २१ देखि गोरखा दरवारबाट पदयात्रा सुरु हुने नेपाली सेनाको रिपुमर्दन गणले जनाएको छ ।

नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा हुने निमित्त गणपति भुवनबहादुर थापा मगरले बताए ।

अधिकृतको कमाण्डमा ३० जनाको टोली पदयात्रामा सहभागी हुने उनले जानकारी दिए । ‘पुष २७ गते ३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखा दरवारबाट पदयात्रा सुरु गर्न लागेका हौ,’ उनले भने, ‘यात्रामा टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर गण र सबुज गणको झण्डा सहित नेपाली सेनाको फौज सहभागी हुन्छन् ।’

गोरखा दरवारबाट सुरु हुने यात्रा पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ, घाटवेशी पुग्ने र उक्त टोलीले टर्च र झण्डा धादिङलाई हस्तान्तरण गर्ने मगरले जानकारी दिए । उनका अनुसार धादिङले नुवाकोटलाई र नुवाकोटले २६ गते बेलुकीसम्म काठमाण्डौको सार्दुल गण गुल्ममा टर्च र झण्डा बुझाउने कार्यक्रम रहेको छ ।

उक्त टोली पुष २७ गते राष्टिूय एकता दिवसको अवसरमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । पुष २१ गते औपचारिक कार्यक्रमका बीच पदयात्रामा सहभागी हुने टोलीलाई टर्च र झण्डा हस्तान्तरण गरेर बिदाइ गरिने नेपाली सेनाले जनाएको छ । कार्यक्रममा पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल, गोरखाका जनप्रतिनिधि, स्थानीय लगायतको सहभागीता रहने बताइएको छ ।

उक्त पदयात्राको बिषयमा बिहीवार जिल्लाका सरोकारवालाहरु बीच छलफल समेत भएको छ । छलफलमा सहभागीहरुले पदयात्राको निरन्तरतासँगै सो मार्गमा रहेका कोट तथा गढीहरुको पनि संरक्षण गर्दै लैजानुपर्ने बताए ।

ऐकीकरण मार्ग लगायत ऐतिहासिक धरोहरहरुको जगेर्नासँगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ २०७६ सालदेखि नेपाली सेनाले एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्