| सोमवार, कार्तिक २३, २०८३

बूढीगण्डकी आफै बनाउँछौँ भन्नु ‘सरकारको गफ’ हो : अध्यक्ष ओली


बूढीगण्डकी जलविद्युत आयोजना नेपाली आफैले बनाउँछौँ भन्नु सरकारको हाँस्यास्पद गफ मात्र भएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । पार्टीले सञ्चालन गरेको ‘संवृद्धिका लागि संकल्पयात्रा’ अन्तर्गत गोरखा आइपुगेका अध्यक्ष ओलीले शनिबार बिहान गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाललाई हित हुने गरी विदेशीलाई दिन आग्रह गरे ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

‘पहिलोपल्ट म सरकारको नेतृत्व गर्दा बूढीगण्डकी आयोजनालाई अघि बढाउन खोजेँ । सरकार ढालियो । बूढीगण्डकीलाई खारेज गरियो । फेरि दोस्रोपल्ट मैले सरकारको नेतृत्व गर्दा फेरि त्यसलाई अघि बढाउन खोजेँ । फेरि सरकार ढालियो । फेरि आयोजना खारेज गरियो । गर्न खोजेको के हो, त्यो थाहा छैन’, , ‘म के भन्न चाहन्छु भने नेपालको परियोजना कुन देशले बनाउँदा नेपाललाई फाइदा हुन्छ, त्यसै देशलाई दिनुपर्छ । तर एउटा देशलाई दिनै नहुने, अर्को देशलाई दिनै पर्ने । जिएमआरले अपर कर्णाली जिम्मा लिएर नबाएको पन्द्रबर्ष भयो, फेरि पनि अर्को आयोजना उसैलाई दिनुपर्ने, के छ यसमा ?’

सरकारले बूढीगण्डकी आयोजना आफै बनाउने ‘गफ दिने’ गरेको उनले बताए । ‘कहिलेकहीँ सरकारमा रहनेहरुले बढि नै गफ दिनेगर्छन् । एकचोटी मैले नै शेरबहादुरजीलाई बूढीगण्डकी के गर्नुहुछ भनेर सोधेँ । उहाँले हामी आफै बनाउँछौँ भन्नुभयो । हामीसंग पैसा छ र ? भनेर सोध्दा उहाँले मज्जाले पैसा छ भन्नुभयो । कर्मचारीलाई तनखा खुवाउन आन्तरिक ऋण उठाउनु हुन्छ, बूढीगण्डकी आफै बनाउछु भन्नुहुन्छ । प्रधानमन्त्रीको धाक । अहिलेको अवस्थामा अझै केही बर्षसम्म नेपाल आफैले बूढीगण्डकी बनाउन कुनै सम्भव देखिँदैन । आफैले बनाउन सक्ने ४८० मेगावाटको फुकोट कर्णाली आयोजना अर्कालाई दिने, यस्तो ठूलो आयोजना, जुन हामी बनाउन सक्दैनौँ, त्योचाहिँ हामी नै बनाउँछौँ भनेर राख्ने, यो ठिक छैन ।’ राज्य कोषबाट ७६ अर्ब मुआव्जा दिइसकेकाले बूढीगण्डकी जसरी पनि बनाउनै पर्ने उनको भनाइ छ ।

विश्वमा जम्मा १९ वटा मात्र मुलुक स्वाधीन रहेका बेला स्वाधीन रहेको मुलुकलाई स्वतन्त्र र स्वाधीन बनाउन नसक्नु लज्जाको विषय भएको अध्यक्ष ओलीले टिप्पणी गरेका छन् । राष्ट्रियताका मामलामा लज्जास्पद काम गर्न नहुने तर्क गरे ।

‘हिँजो हाम्रा पुर्खाहरुले लडेर देश बचाए, लडेर देश बनाए । आज हामी अडिए पुग्छ, तर अडिनै नसक्ने खालको कमजोरी देखाउनु नेपाल र नेपालीहरुका लागि लज्जाको विषय हो’, शनिबार बिहान गोरखामा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा, कालापानीको प्रश्न हाम्रा उच्चास्तरीय भेटघाट र संवादहरुमा उठ्दैन । त्यो भन्दा गए गुज्रिएको अबस्था के हुन्छ ? त्यो भन्दा देशप्रतिको बेइमानी के हुन्छ ? हामीले संयुक्त रुपमा बनाएको रिपोर्ट कार्यान्वयन गरौँ कि फाल्दिउँ, के गरौँ भनेर सोध्न पनि नसक्ने ? रिसाउँछन् जस्तो लागेको होला, त्यो पनि रिसाउँछन् कि भन्ने अनुमान होला । हामी राष्ट्रियताका मामलामा यस्तो कमजोर हुनुहुदैन ।’

चीनले दिएको सहयोग लिन पनि नेपाल डराउने गरेको अध्यक्ष ओलीको आरोप छ । ‘चीनले लुम्बिनीमा, पोखरामा एयरपोर्ट बनायो, चल्न दियाछैनन् । दियाछैनन् नि के भनौँ, चलाएका छैनन् । चलाउन पाउँदैनौ भनेर भित्र भनेका होलान्, बाहिर त भनेका छैनन् । एयरपोर्ट चलाउनु प¥यो नि । तर भारत रिसाउँछ होला भन्ने अनुमान गरेर सरकार एयरपोर्ट चलाउन डराउँछ’, उनले भने, ‘चीनलाई मात्र पर्यटक पठाइदेउ भन्ने हो भने दशौँ लाख पर्यटक लिएर आउँछन्, आफ्नै प्लेनमा । लुम्बिनी चल्यो भने वुद्धिस्टहरुको ओइरो लाग्छ ।’ नेपालको उत्पादन चीन पठाइदिए जतिपनि किनिदिन्छौँ भन्दा पठाउन पनि डराएको, चीनमा उत्पादन गरेको बस्तु पठाइदिन्छौँ भन्दा किन्न पनि डराएको आरोप उनको छ ।


प्रजातान्त्रिक शासन व्यवस्थामा प्रतिष्पर्धा हुने भएकाले स्वच्छ प्रतिस्पर्धा गर्न अध्यक्ष ओलीको भनाइ थियो । ‘प्रजातन्त्रमा प्रतिस्पर्धा गर्न पाइन्छ । त्यही भएर यो व्यवस्था हामीले छानेर, रोजेरै ल्याएको हो नि’, उनले भने, ‘प्रतिस्पर्धा भनेको मारामार होइन । प्रतिस्पर्धा भनेको घिनलाग्दो तरिकाको होइन । प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ । काम गरेर प्रतिस्पर्धा गरेर देखाउनु पर्छ, तर यहाँ त काम गरेर देखायो भने सरकारबाट खेद्छन् । नाकाबन्दीसंग डटेर सामना ग¥यो भने, कहिल्यै नाकाबन्दी नहुने गरी उत्तरतिर व्यापार, पारावहन सम्झौता ग¥यो भने, ठूलाठूला काम ग¥यो भने, विकास ग¥यो भने, सुशासन ल्यायो भने, अर्थतन्त्र उँभोतिर लगाइयो भने सबै मिलेर सरकारबाट हटाउँछन् ।’ काममा प्रतिस्पर्धा गरेर देखाउनु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्